स्थायी कमिटि बैठकमा ओलीलाई ‘घेराबन्दी’ गर्ने दाहाल नेपाल पक्षको रणनीति

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्ली र नेपालका शक्ति लागेर हटाउन खोजेको अभिव्यक्तिको विवाद भइरहेका बेला मंगलबार बस्ने नेकपाको स्थायी कमिटि बैठकमा उनी आलोचनाको केन्द्रमा पर्ने देखिएको छ ।

नेकपाको स्थायी कमिटिको बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बैठकमा  सहभागी नभएको या केही समय मात्रै बसेर निस्केको भन्दै अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीप्रति सदस्यहरुले गुनासाे गर्दै आएका छन् ।

मंगलबारको बैठकमा सरकारको काम कारवाही र कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भइरहेका प्रयासका सम्बन्धमा सदस्यहरुले बोल्ने छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीमाथि कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

पार्टीसँग परामर्श नगरी सरकार सञ्चालन गरेको, जनअपेक्षा अनुसार काम गर्न नसेको र कार्यकर्तामा निराशा बढेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको आन्तरिक र सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् ।

बैठकमा सो आलोचनालाई कडा रुपमा प्रस्तुत गरी प्रधानमन्त्री ओलीलाई ‘घेराबन्दी’ मा पार्ने प्रचण्ड–नेपाल पक्षको रणनीति छ ।

बैठकमा ओलीले हालै दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक तथा कूटनीतिक विज्ञहरुले तीव्र आलोचना गरिरहेका छन् ।

दिल्ली र नेपालको शक्ति लागेर आफूलाई हटाउन खोजेको र होटलहरुमा त्यसका लागि बैठकहरु भइरहेका भन्ने ओलीको अभिव्यक्तिले भारतसँगको सम्बन्धमा थप असर पर्ने भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्