भारतबाट फर्कने नेपालीहरुको संख्यामा कमी

फाइल तस्बिर

नेपालगञ्ज – असार १५ गते नेपालगञ्ज नाकाबाट एक सय ९७ जना भित्रिए । त्यसमा कर्णाली प्रदेशका ४१ जना थिए । असार १४ गते दुई सय ७७ जना भित्रिए । कर्णाली प्रदेशका ८० जना थिए । १३ गते कर्णालीका ३३ जनासहित एक सय २९ जना नेपाल भित्रिए ।

यो तीन दिनको तथ्यांकले नै देखाउँछ कि भारतबाट नेपाल फर्किनेहरु घटिरहेका छन् । लकडाउनको बीचमा ह्वात्तै बढेको घर फर्किने नेपालीको तथ्यांक अहिले घटेको छ ।

चैत्र ११ गतेदेखि लकडाउन शुरु भएको थियो । शुरुवाती चरणमा भारतमा कडाई हुँदा नेपालीहरु फर्किन पाएनन्, कतिपय हिँडेर आउनेलाई छोडेर । बैशाख अन्तिममा भारतमा लकडाउन अलि खुकुलो पारियो । त्यसपछि घर फर्किने नेपालीको संख्या बढ्यो ।

लकडाउनका अवधिमा नेपालगञ्ज नाकाबाट मात्रै ४७ हजार ४ सय ८९ जना भित्रिएका छन् । योमध्येमा जेठमा मात्रै ३८ हजार नेपाली घर आएका छन् । पश्चिमको चलनचल्तीको नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार बढी नेपाली भित्रिरहेकोमा अहिले आएर सय÷दुई सयमा झरेको छ।

यो नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका मानिस छन् । जेठमा भित्रिएका नेपालीमा कोरोना देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भारतको प्रायः महाराष्ट्रबाट आएका नेपालीमा कोरोना देखिएको बताए ।

‘भारतको अन्यत्रबाट आएकामा कोरोना कम देखिएको छ’, फोकलपर्सन श्रेष्ठले भने, ‘पछिल्लो समयमा भारतबाट आउनेको संख्यामा कमी भएको छ । कोरोना देखिन पनि छोडेको छ । क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु खाली भइसकेका छन् ।’

कर्णालीका प्रायः मानिसहरु उत्तराखण्डमा कामका लागि जाने गर्दछन् । कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा पुग्ने नेपालीहरु घर फर्किसकेका छन् । नेपालीहरु घर फर्किएपछि यी ठाउँमा स्याउ टिप्ने कामदार अभाव भएको भारतीय मिडियाहरुमा समाचार आइरहेका छन् ।

लकडाउनको बेलामा दुःखकष्ट सहदै घर फर्किएका नेपालीहरु भारत फर्किएका छैनन् । नेपालगञ्ज नाकाबाट इण्डियन आर्मीमात्रै ब्यारेक फर्किएका छन् ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू