गर्भपतन सीमित गर्ने कानून अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज

सर्वोच्च अदालत बाहिर गर्भपतनको विपक्षमा रहेकाहरुको प्रदर्शन।

अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी महत्वपूर्ण फैसला गरेको छ ।

लुजियाना राज्यमा गर्भपतनलाई सीमित गर्नु असंवैधानिक रहेको फैसला सर्वोच्च अदालतले गरेको हो । गर्भपतन गराउने डाक्टरसँग बिरामीलाई स्थानीय अस्पतालमा भर्ना गर्ने अधिकार हुने सम्बन्धी कानूनले महिलालाई अनावश्यक झण्झट थपेको सर्वोच्चका न्यायाधीशले बताएका छन् ।

प्रधानन्यायाधीश जोन रोबर्टसले उदार न्यायाधीशको पक्ष लिए र सर्वोच्चले ५–४ ले लुजियाना राज्यको कानूनलाई असंवैधानिक ठहर गर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतले सन् २०१६ मा टेक्सासको यस्तै खालको नीतिलाई पनि रोकेको थियो ।

डोनाल्ड ट्रम्पको शासनकालमा गर्भपतन सम्बन्धी विषयमा सर्वोच्च अदालतले गरेको यो पहिलो प्रमुख फैसला हो ।

सन् २०१४ मा लुजियाना राज्यले डाक्टरहरुमा आफ्नो कार्यक्षेत्रको ४८ किलोमिटर परसम्मका महिलालाई भर्ना गर्न पाउने अधिकारसहितको कानून ल्याएको थियो । तर यो कानूनले गर्भपतन गराउने डाक्टर वा संस्थालाई सीमित गर्ने र महिलाको गर्भपतन सम्बन्धी अधिकारको हनन हुने आलोचकको भनाई थियो ।

लुजियाना राज्यले गर्भपतन सेवा प्रदायकलाई नियमन गर्न भन्दै सो कानून ल्याएको थियो । तर रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले नियुक्त गरेका प्रधानन्यायाधीश रोबर्टसले लुजियाना राज्यको कानून विरुद्ध फैसला गरेका हुन् ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्