महाधिवेशनको कार्यतालिका हेरफेरबारे कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल हुँदै

काठमाडौँ – नेपाली कांग्रेसमा केन्द्रीय महाधिवेशन यथावत राखी तल्लो तहका महाधिवेशन सार्ने बारे छलफल हुँदैछ । त्यसका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि यो विषयमा आइतबार महासमिति बैठकमा छलफल भएको थियो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारी नियन्त्रणमा भएका सरकारी प्रयासबारे समेत छलफल हुनेछ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने तयारी छ । तर कोरोना भाइरसको महामारीका कारण त्यो भन्दा पहिले नै तल्लो तहका महाधिवेशन गर्न नसकिने भएकाले त्यसको कार्यतालिका हेरफेर गर्नेबारे कांग्रेसमा छलफल भइरहेको हो ।

कांग्रेसमा ८ तहको महाधिवेशन गर्नु पर्ने हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण फागुनमा हुने केन्द्रीय महाधिवेशन पूर्व ती सबै महाधिवेशन गर्न सम्भव नदेखिएकाले सार्ने बारे बैठकमा छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुनको महाधिवेशन गर्नका लागि तयारी थाल्न सभापति शेरबहादुर देउवामाथि लगातार दबाब दिँदै आएको छ ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्