स्वास्थ्यमन्त्रीलाई कांग्रेसको प्रश्नः महामारी बढ्दैछ, के छ तयारी?

काठमाडौँ –  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले गरेका प्रयासहरु पर्याप्त नभएको निष्कर्षसहित प्रभावकारी कदम चाल्नका लागि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको हो ।

कोभिड १९ को महामारी रोकथाम तथा सरकारी प्रयासबारे अध्ययन गर्न कांग्रेसले गठन गरेको अनुमगन समितिले मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

समिति संयोजक डा. प्रकाशसरण महतको नेतृत्वमा गएको कांग्रेसको टोलीले मन्त्री ढकाललाई ध्यानाकर्षण गराउँदै कोरोना महामारी रोकथामका लागि गम्भीर बन्न आग्रह गरेको हो ।

कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितता, क्वारेन्टिनहरुको कहाली लाग्दो अवस्था, कोरोना बाहेकका बिरामीहरुले समेत उपचार नपाइरहेको अवस्थाबारे मन्त्री ढकाललाई ध्यानाकर्षण गराएको टोलीमा सहभागी कांग्रेस नेता मोहन बस्नेतले जानकारी दिए ।

उनले महामारी रोकथामका लागि भएका सरकारी प्रयासमा कांग्रेसले विगतदेखि नै साथ दिएको र अहिले पनि सहयोगका लागि तयार रहेको जानकारी मन्त्री ढकाललाई गराएको बताए ।

‘सरकार के गरिरहेको छ? महामारी बढ्ने प्रक्षेपण भइरहेका बेला तयारी के छ भनेर सोध्यौँ’, उनले भने, ‘सहयोगका लागि हामी तयार छौँ भन्ने पनि अवगत गरायौँ ।’

जवाफमा मन्त्री ढकालले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेका प्रयासमा केही कमजोरी भए पनि त्यसलाई सुधार्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको बस्नेतले जानकारी दिए ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू