तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माणका लागि तयारी हुँदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ ।

‘तत्कालीन सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन।’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’

प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्बन्धित निकाएमा पठाइसकेको जानकारी दिए । ‘हामीले जतिसक्दो छिटो तीनकुनेको विवाद अन्त्य गर्ने र पार्क निर्माणको कामलाई अघि बढाउने उदेश्यका साथ प्रारम्भिक अधिकारी तोकेका थियौँ । प्रारम्भिक अधिकारीले सम्वन्धित निकायलाई प्रतिवेदन बुझाई सक्नु भएको छ । साथै, काठमाडौँ महानगरपालिकाले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनु भएको छ ।’ उनले भने, ‘हामीले डिजाइन तयारी अवस्थामा राखेका छौँ । समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्छ ।’

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं वयक्तिहरुको सहयोग र समन्वयमा तीनकुनेमा अध्याधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने कुरा उल्लेख गरेको स्मरण गराउँदै प्रमुख शाक्यले सबैसँग सहयोगको अपेक्षा रहेको बताए ।

पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ ।

डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौन्दर्य बढाउन उपयुक्त स्थान हुने भनाई छ ।

‘सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार पनि हामीले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न चाहेको हौँ,’ उनले भने, ‘हामीले तयार पारेको डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ । त्यहि गुम्बज आकारमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मुर्तिको बेस १२ मिटर व्यासको रहने छ । बुद्धमुर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमाचक्र रहने छ ।’ उनका अनुसार तीनकुनेको तीन कुनामा शंख आकारको पार्क रहने छ ।

तीन जिल्लाको संगममा रहेको तीन कुनेको तीन कुना भित्रको केन्द्रलाई शुन्यताको आधार मानेर डिजाइन तयार पारिएको उक्त पार्क रिस, राग, मोह जस्ता नकरात्मक विचारलाई मस्तिष्कबाट त्यागेर शुन्य अर्थात शान्त बनाउने स्थलका रुपमा समेत विकास गर्न सकिने शाक्यको भनाई छ ।

मुर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमुर्ति भएको ठाउँसम्म पुग्न १२ ओटा प्रवेशद्वार राखेर डिजाइन तयार पारेको पनि शाक्यले जानकारी दिए ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू