चित्तलको मासु बेचिरहेका शिकारी हतियारसहित पक्राउ

सांकेतिक तस्बिर।

वीरगञ्ज – लकडाउनको मौका छोपी पर्सामा काठ र जंगली जनावरहरुको चोरी शिकारी बढेको छ । पछिल्लो समय पर्सामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जंगलबाट व्यापक रुपमा काठ र जंगली जनावरको चोरी शिकारी हुँदै आएको छ ।

तस्करहरुले राष्ट्रिय जंगल तथा निकुञ्जको जंगलबाट साल, सतिसाल, सिमल लगायतका काठ र हरिण, चित्तल जस्ता जंगली जनावरहरुको चोरी शिकारी बढी गर्ने गरेका छन् ।

तस्करहरु साँझतिर निकुञ्ज तथा राष्ट्रिय वनमा पस्ने र रातिको समयमा साल, सतिसालको रुखहरु काटेर बिहान तिर साइकलमा उक्त काठहरुको गोलिया राखेर नजिकैको स मिलमा लग्ने गरेको स्थानीयबासी बताउँछन् ।

राष्ट्रिय जंगलसित जोडिएको वीरगञ्ज महानगरपालिका, जीराभवानी गाउँपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली, पर्सागढी नगरपालिका लगायतका स्थानहरुमा काठ र जंगली जनावहरुको चोरी शिकारी बढी हुने गरेको छ ।

लकडाउनको बेलामा काठ र जंगली जनावरहरुको चोरी शिकारी बढेपछि वन गस्ती टोलीले पनि आफनो निगरानी बढाएको छ ।

जसका कारण पछिल्लो समय राष्ट्रिय वनबाट काटेर ल्याइएको काठ तथा जंगली जनावरहरुको चोरी शिकारीमा संलग्न व्यक्तिहरु पनि हात हतियारसहित पक्राउ पर्न थालेका छन् ।

सोही क्रममा राष्ट्रिय वनबाट चित्तलको शिकार गरि घरमा ल्याएर बेचिरहेको अवस्थामा एक शिकारीलाई नेपाली सेना र वन गस्ती टोलिले हतियारसहित पक्राउ गरेको छ ।

हतियारसहित पक्राउ पर्नेमा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ बस्ने ५० वर्षीय लक्ष्मण माझी मुसहर रहेका छन् ।

मुसहरलाई पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सिद्धिबक्स गण अन्तर्गतको माहादेव पोस्टमा तैनाथ नेपाली सेना, निकुञ्ज कर्मचारी र सव डिभिजन वन कार्यालय मधुवन मथवलबाट गएको संयुक्त गस्ती टोलीले उनको घरबाटै पक्राउ गरेको हो ।

मुसहरलाई चित्तल मारेर आफनै घरमा बेचिरहेको अवस्थामा एक थान १२ बोरको बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत राजेश्वर मान श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका माझिलाइ आवश्यक कार्वाहीको लागि सव डिभिजन वन कार्यालय बढनियारमा राखिएको छ ।

यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट एक जना काठ तस्करलाई काठसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन कटैयाका भरत माझी रहेका छन् ।

माझीलाई पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बंकुल टोलबाट वनगस्ती टोलीले काठसहित पक्राउ गरेको हो ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्