फोटो फिचर

पञ्चेबाजा बजाउँदै नागरिकता ऐन विरुद्ध जसपाको विरोध प्रदर्शन

काठमाडौँ – संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

समाजवादी विद्यार्थी युनियको आयोजनामा काठमाडौँको माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ ।

जसपाका नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतो अशोक राई लगायत सहभागी भएको प्रदर्शनका सहभागीहरुले पञ्चेबाजा बजाएर विरोध गरिरहेका छन् ।

नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधानविरुद्ध जसपा आन्दोलनमा उत्रको हो ।

जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरु नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।

माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरुले जातिय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा समेत लगाएका थिए ।

प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव लगायतका उच्च पदस्थ नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्