छोराले बन्चरो प्रहार गरेपछि बुवाको मृत्यु

मोरङ-घरायसी विवादका कारण मोरंगको जहदाँ गाँउपालिकामा नाबालकले आफनै बुबाको हत्या गरेको खुलेको छ । आमामाथि गर्दै आएको कुटपिट र दुःख सहन नसकी १५ वर्षीय नाबालकले बुबालाई बन्चरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले १५ वर्षीय छोराले ४० वर्षीय बुबा विर्जु टुडुमाथि बन्चरो प्रहार गरेको अनुसन्धानपछि खुलेको जानकारी दिए।

घरायशी विवादका क्रममा शनिबार विहान विर्जुको टाउकोमा बन्चरो प्रहार गरेर फरार रहेका नाबालकलाई समेत प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको उनले बताए। शनिबार घाइते भएका विर्जुलाई तत्काल विराटनगरको विराटनगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

आर्थिक अवस्था कमजोर भएका कारण परिवारले घाइते विर्जुलाई अस्पतालमा थप उपचार गराउन सकेनन् । घाइते अवस्थामै उनलाई परिवारले आइतबार घर फर्काएको थियो ।

घाइते विर्जुको सोमबार घरमै मृत्यु हुन पुगेको प्रहरी उपरीक्षक खड्काले बताए। विर्जुको टाउकोमा चोट देखिएपछि हत्या भएको आशंकामा छरछिमेकले प्रहरीलाई खबर गरेका थिए।

सोमबार नै प्रहरीले घरबाटै शव उठाएर पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याएका थिए । प्रहरी उपरीक्षक खड्काले पोष्टमार्टम परिक्षणको रिपोर्ट आउन बाँकी नै रहेको जानकारी दिए ।

त्यसैगरी पक्राउ परेका नाबालकले आमालाई सधैं कुटपिट गर्ने र दुःख दिने गरेकाले बाबुलाई बन्चरोले प्रहार गरेको प्रहरीलाई बताएका छन्। प्रहरी उपरीक्षक खड्काले बाबुको हत्यामा नाबालकको संलग्नता रहेको खुलेपछि घटनाको अनुसन्धान गम्भीर रुपमा अघि बढाइएको बताए।

असार १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू