प्रदेश अस्पताल सुर्खेतका एचए विकासप्रसाद न्यौपाने

हाँसेरै कोरोनालाई जिते, कोराना संक्रमितकै उपचार रोजे

प्रदेश अस्पताल सुर्खेतमा डियुटीमा खटिएका विकास प्रसाद न्यौपाने। फोटोहरु दीपा दाहाल

वीरेन्द्रनगर- कोरोना महामारीको प्रभाव र पीडाबाट कोही पनि अछुतो छैन। महामारीले प्राय: सबैको मनोबल कमजोर बनाएको छ। आर्थिक संकट आइलागेको छ।

भविष्य अनिश्चत बनेको छ। राज्यबाट उपेक्षित, गरिब, मजदुर मात्रै होइन बिरामीको उपचार र परीक्षणमा अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला प्राविधिकहरु र सुरक्षामा समेत खटिनेहरु यो महामारीबाट पीडित र प्रभावित छन्।

संक्रमण हुनासाथ उनीहरु पनि एकाएक अत्तालिएको पाइन्छ। त्यो स्वाभाविक पनि हो। कारण कोरोनाले विश्वभरि लाखौँको ज्यान लिइसकेको छ। र, यसविरुद्धको औषधि (खोप) अझै पत्ता लागेको छैन । संक्रमणबाट नेपालमै २९ जनाले मृत्युवरण गरेका छन्।

संक्रमण पुष्टि हुनासाथ कुनै पनि व्यक्ति प्रायः पारिवारिक र सामाजिक तिरस्कारको पात्र बनेको पाइन्छ। घरधनीले निकाल्ने या डेरा नदिने प्रवृति व्याप्त बनेको छ। जसले गर्दा उपचार पछि निको भएकाहरुलाई पनि मानसिक रुपमा पूर्ववत् अवस्थामा फकिर्न गाह्रो हुनेगरेको छ।

तर प्रदेश अस्पताल सुर्खेतमा कार्यरत (भैरवी गाउँपालिका, दैलेख घर भएका) २२ वर्षीया हेल्थ असिटेन्ट (एचए) विकास प्रसाद न्यौपानेमा संक्रमणपछि आत्मविश्वास झनै बढेको छ।

निडर बनेका छन् उनी। अस्पतालको आकस्मिक कक्षामा दुई वर्षदेखि सेवा दिइरहेका उनले संक्रमणपछि अस्पतालद्धारा संञ्चालित कोरोना विशेष अस्पतालको सेवा रोजेका छन्।

त्योसँगै उनी उक्त अस्पतालमा रहेका करिब ६० जना संक्रमितका हौसलाका केन्द्र बनेका छन्। विकासले आकस्मिक कक्षमा सेवा दिइरहेका बेला गत माघको १० गते नेपालमा पहिलो पटक संक्रमण पुष्टी भएपछि नागरिकसँगै स्वास्थ्यकर्मीहरु चनाखो बनेका थिए।

तर चैतदेखि संक्रमितको संख्या उकालो लाग्न थालेपछि विकाससँगै अन्य स्वास्थ्यकर्मी सचेत भए। आकस्मिक कक्षमा सेवा लिन आउने र ‘भिजिटर’ लाई सम्झाउने र बझुाउने दायित्व विकासमा पनि थपियो।

देशका अन्य भागमा भन्दा कर्णालीमा संक्रमण ढिलोगरी देखिए पनि छोटो समयमै संक्रमण झाँगियो। कर्णालीका दुर्गम जिल्लामा सञ्चालित आइसोलेसनमा चिकित्सक र स्वास्थ्यकर्मीको अपुग हुनथाल्यो।

प्रदेश सामाजिक विकास मन्त्रालयले वैशाख २८ गते विकाससँगै अन्य दुई जना चिकित्सक, एकजना एचए र दुईजना नर्सहरु सम्मिलित टोलीलाई रुकुमको चौरजहारीको विदेशी संस्थाद्धारा सञ्चालित  सामुदायीक अस्पतालमा खटायो।

अस्पतालमा पनि आइसोलेसन थियो। चौरजहारीको स्कूलमा पनि क्वारेन्टिन र आइसोलेसन सञ्चालित थियो। सोही स्कूलको आइसोलेशनमा सुर्खेतबाट गएका विकासको टोली खटियो । उनीहरुले २० वटा बेडको आइसोलेसन हेरे।

त्यहाँ उनीहरुले आइसोलेसनमा भर्ना भएकालाई परामर्श दिन अधिकांश समय खर्चिए। आइसोलेशनमा अधिकांश विदेश खासगरी भारतबाट आएका नागरिक थिए। उनीहरुमा संक्रमणको परीक्षण गरिएको थिएन।

त्यसैले उनीहरुलाई ‘शंस्कास्पदव्यक्ति’ हरुको सूचिमा राखिएको थियो। लक्षण नभएका उनीहरुलाई विकासको टोलीले हौसला थपिरह्यो। तोकिएको एक महिनाको ड्यिुटी पुरा गरेर विकासको टोली वीरेन्द्रनगर फर्कियो, ढुक्कका साथ।

तर बाहिरबाट आएकाले पीसीआर परीक्षण गर्नुपर्ने अस्पताल प्रशासनको नियमअनुसार विकाससँगै ६ जनाले स्वाब परीक्षणका लागिदिए। रिपोर्ट आउने बेलासम्म उनीहरु आआफ्नै घर र डेरामा बसे।

तर विकास त्यतिबेला तर्सिए जब उनलाई अस्पतालका सिनियर चिकित्सकले संक्रमण पुष्टि भएको सुनाए। विकास छाँगाबाट खसे जस्तै भए सँगै अचम्मित पनि । उनी भन्छन्, ‘म अचम्मित हुनु स्वाभाविक थियो जस्तो लाग्छ। मैले मलाई संक्रमण होला भन्ने सोचेको थिएन। कारण निकै सर्तकता अपनाएर बिरामीलाई हेरेको थिए। आइसोलेसनमा पनि पीपीई लगाएर मात्रै काम गरेको थिए।’

प्रदेश अस्पताल सुर्खेतमा डियुटीमा खटिएका विकास प्रसाद न्यौपाने।

संक्रमण पुष्टि हुँदा उनलाई आफ्नो हैन दैलेखमा रहेका बुवाआमा र परिवारको चिन्ता थपियो। आफूलाई संक्रमण पुष्टि भएको थाहा पाएपछि बुवाआमा आत्तिनु हुन्छ भन्ने उनलाई लागेको थियो। तर बुवाआमाले उल्टै नआत्तिन, चिन्तानगर्न र मनोबल उच्च बनाउन सुझाव दिए।

उनी भन्छन्, ‘बुवाआमाले चिन्ता गर्नुहोला भन्ने लागेको थियो। तर उहाँहरुले उल्टै सम्झाउनु भयो। निकै खुशी लाग्यो।’ विकासका बुवाआमा घरमै सानो पसल थापेर जीवनगुजारा गरेका छन्।

यसो त विकासले पनि दैनिक चार घण्टा आउजाउ गरेर गाउँकै स्कूलबाट एसएलसी पास गरेका थिए । त्यसपछि उनी सानैदेखिको सपना पूरा गर्न नेपालगञ्ज पुगे र तीनवर्ष लगाएर एचएको अध्ययन पूरा गरे ।

सानैदेखि सेवाभावमा रुची गर्ने विकासमा त्यो भावनाले थप जरा गाढ्दै लग्यो । र प्रदेश अस्पताल सुर्खेतमा आएर दुई महिना स्वंसेवक बने। तर उनको खटन र मिहेनतबाट अस्पताल प्रशासन प्रभावित बन्यो। विकासले करारमा त्यहीँ जागिर पाए।

संक्रमण पुष्टि हुनासाथ विकास अस्पतालद्धारा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेसनमा १४ दिन बसे। तीनदिन भने विकासका लागि कष्टकर रह्यो ।

‘घरपरिवारबाट हौसाल पाए पनि मन मान्दो रहेनछ। आफूले आफूलाई सम्झाउन र यथार्थ स्वीकार्न समय लाग्दो रहेछ। आइसोलेसनमा बस्दा म निकै तनावग्रस्त अवस्थामा पनि पुगे,’ विकास भन्छन्।

त्यतिबेला संक्रमण कसरी भयो? को बाट सर्यो? अब के हुने हो? घरधनीले डेरामा बस्न दिने हुन् कि हैनन् जस्ता कयौँ प्रश्नले उनको मनमा घर बसाएका रहेछन् । मन भुलाउन उनी कहिले अन्य संक्रमितसँग कुरा गर्थे। तर अन्य संक्रमित उनीभन्दा थप तनावमा परेको देख्थे।

सम्झाउने उनको दायित्व बन्थ्यो। विभिन्न ठाउँबाट आएका संक्रमित सबै एकैनासका थिएनन्। कतिपयले उदण्ड स्वाभाव देखाउँथे। केही केही लागू पदार्थ प्रयोगकर्ता पनि थिए। अस्पतालमा लागूपदार्थ सेवन गर्न नपाउँदा उनीहरु छटपटिन्थे।

‘राती निन्द्रा लाग्दैन थियो। मनमा अनेक कुरा खेल्थे। तर म मात्रै संक्रमित थिएन त्यहाँ। उनीहरुलाई सम्झाउँदै जाँदा मेरो मनोवल बलियो बन्दै गएको पत्तो पाइन। विस्तारै मलाई डर लाग्नछाड्यो’ उनी आफ्नो अनुभव सुनाउँछन्।

आइसोलेशनबाट निस्कदै गर्दा उनलाई साथीभाई र घरधनीको पीर थपियो। साथीभाइले उनको संक्रमणलाई सामान्य रुपमा हेरे पनि घरधनीले असहज महसुस गरे। उनलाई डेरामा नबस्न दबाब दिन थाले। जहाँ इच्छा त्यहाँ उपाय भने झैँ विकल्प खोज्दै जाँदा विकासले कोरोना विशेष अस्पतालमै काम गर्ने निधो गरे।

उनको अनुरोध अस्पताल प्रशासनले पनि सहजै स्वीकार गर्यो। कोरोना विशेष अस्पतालमा काम गर्नेहरुलाई अस्पताल प्रशासनले होटलमा राख्ने गरेको छ। १४ दिन काम गरेपछि थप १४ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। यो सबै प्रक्रिया स्वीकार गर्दै विकास संक्रमितको हेरविचारमा खटिएका छन्।

उनले आइसोलेसनमा बस्नेहरुको मनोभाव पनि बुझेका छन्। त्यसले उनलाई उपचार र हेरबिचार गर्न सहज बनेको छ। उनीहरुको मनोभाव बुझ्दै कहिले खेल्न, कहिले शारीरिक व्यायम गर्न अनुरोध गर्छन, आइसोलेसन बाहिर जडित माइकाबाट।

सीसी टिभीबाट पनि उनले आइसोलेसनको गतिविधि नियाल्छन्। कसैलाई असहज नहोस् भन्नेमा उनी सचेत छन्। संक्रमणबाट निको भएर घर फर्कनेलाई पनि विकास उत्तकै परामर्श गर्छन्।

संक्रमण न्यूनिकरणमा जनचेतना महत्वपूर्ण छ भन्नेमा उनलाई हेक्का छ। विकासले एक महिना सेवा दिएको चौरजहारीको आइसोलेशनमा रहेका करिब २० जनाको पीसीआर परीक्षण भयो। तर सबैका रिपोर्ट नेगेटिभ आयो।

डेरामा नबसे पनि त्यसको भाडा भने विकासले तिर्नुपर्ने छ। अब डर छैन? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यस्तो घटनाले झन निडर हुन सिकाउने रहेछ। अब मैले अरुलाई सहयोग गर्नुपर्छ भन्ने भयो।’

प्रदेश अस्पताल सुर्खेतमा अहिले ६० जनाभन्दा बढी संक्रमित छन्। राती ड्यिुटी पर्दा विकास र उनका साथीहरु अस्पतालकै अर्को भवनमा सुत्छन्। उनी भन्छन्, ‘यस्तो संकटका बेला बिरामीको सेवागर्न पाइएको छ। खुशी छु।’

हाल मुलुकमा थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। कतिले काम छोडे। समुदायमा समस्या छ। संक्रमतिलाई समाजले स्वीकार गर्दैन्। सबै अस्पताल प्रशासनका पदाधिकारीहरु प्रदेश अस्पताल सुर्खेतका पदाधिकारी जस्ता छैनन्। स्वास्थ्यकर्मीलाई डेरामा या घरमै पनि बस्न समस्या छ। सबैलाई होटलमा बस्ने सुविधा छैन ।

तर विकास भन्छन्, ‘यस्तो बेला बिरामीलाई मात्र नभएर उनीहरुको उपचारमा खटिनेलाई पनि हौसलाको जरुरी छ।’

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू