सुनसान धारपानी धाम(फोटो फिचर)

दाङ– कृणा घिमिरेले आफ्ना दिवंगत श्रीमान बामदेव घिमिरे र जेठा सुपुत्र श्रीधर घिमिरेको स्मृतिमा धारपानी मन्दिर क्षेत्रमा तुलसीको मठ एक वर्ष अघि बनाइन् ।

बुधबार घिमिरे सोही तुलसीको मठमा नयाँ तुलसीको विरुवा सार्न धारपानी क्षेत्रमा पुगिन् । तर, विगतमा जस्तो चहलपहल थिएन। फाट्टफुट्ट बाहेक श्रद्धालु भक्तजन धारपानी धाम क्षेत्रमा विगतमा जस्तो भक्तजनको भीड देखिएन ।

घिमिरे पुग्नु अघिनै मन्दिरका पुजारीले तुलसीको मठमा नयाँ तुलसीको विरुवा सारिसकेका थिए ।‘कोरोना भाइरसका कारण मन्दिर क्षेत्रमा औपचारिक पूजा–आजा, दर्शनको कार्य रोकिएको छ । त्यही भएर हामीले नै तुलसी रोप्यौं’ पाण्डवेश्वर धारपानी धामका पुजारी गोविन्द पौडेलले भने–‘मन्दिरमा पूजा–आजा र दर्शनको काम बन्द गरेका छौं । त्यही भएर दर्शनार्थीको उपस्थिति ज्यादै न्यून छ ।’

हरिसयनी एकादशीको दिन धारपानी धाम क्षेत्रमा बनाइएका ५४ ओटा तुलसीको मठमा नयाँ तुलसीको विरुवा सारिएको छ । ‘श्रीमानले छाडेर जानु भयो । उहाँको सम्झनामा धार्मिक क्षेत्रमा तुलसीको मठ बनाएँ । कोरोना भाइरसको डरै डरमा भएपनी दर्शन गर्न पुगेँ’घिमिरेले भनिन्–‘सधैं तुलसीको मठको स्याहार गर्न नपाए पनि वर्षमा एक दिन यसको हेरचाह गर्ने अवसर हरीसयनी एकादशीले जुरायो ।’

लकडाउन हुनु अघिनै विश्वको अग्लो त्रिशुलले प्रशिद्धी कमाएको पाण्डवेश्वर धारपानी धाम क्षेत्रमा पूजा–आराधना रोकिएको हो । लकडाउन हुनु अघि दैनिक एक हजार बढी भक्तजन धाम क्षेत्रमा पुग्ने गरेका थिए । तर, अहिले धाम क्षेत्रमा भक्तजनको चहलपहल रोकिएको धारपानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु आचार्यले जानकारी दिए ।

मन्दिर क्षेत्र पूजा आराधनाको लागि नखोलिए पनि बाँकी पूर्वाधार निर्माणको काम भने जारी राखिएको छ । वेद विद्यालय(गुरुकुल निर्माण) भैरहेको छ । पानी सञ्चयको लागि ड्याम निर्माण भैरहको हो । सुनकोट पुग्न ४ हजार ९ सय ६३ सिढी बनाउने योजना अनुसार अहिले एक सय ८० सिडी बनेको छ । सुनकोट मन्दिरमा ठूलो घण्ट जडान गरिने छ ।

तुलसीको महत्व यस्तो

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतिकका रुपमा मानिन्छ । बुधबारदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले बुधबारको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान विष्णुले शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।

यस वर्ष असोज महिनामा अधिकमास पर्ने भएकाले चतुर्मासा भनिए पनि पाँच महिना हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष चतुर्मासाको अवधिमा १० एकादशी पर्छन् ।

अधिकमासका कारण पद्मनी र परमा नामका दुई एकादशी बढी भएका हुन् । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका किटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू