शोक प्रस्ताव पारित गर्दै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ – सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सांसद छन्त्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो ।

विक्रम सम्बत २०१४ सालमा बाग्लुङ्ग जिल्लामा जन्मेकी ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ्ग निवासी स्व. छन्त्याल २०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य भएकी थिइन् ।

२०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेकी छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

स्व छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आएकी थिइन् । उनको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

छन्त्यालप्रति सम्मान प्रकट गर्दै भोलि (बिहीबार) पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको छ । भोलि पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने भएको हो ।

आजको बैठकमा स्वर्गीय छन्त्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको थियो ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू