केपी ओलीलाई हटाउन खोजिए प्रणाली नै धरापमा पर्ने नेकपाका शीर्ष नेताको चेतावनी, राष्ट्रपतिसँग लगातार परामर्श

प्रधानमन्त्री केपी ओली।

काठमाडौँ –  केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिए अहिलेको प्रणाली नै धरापमा पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक शीर्ष नेताले चेतावनी दिएका छन् ।

पार्टी भित्र देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको विपक्षमा आवाज बलियो रुपमा उठेका बेला पार्टीका प्रभावशाली ओली पक्षीय ती नेताले अहिलेको समय प्रधानमन्त्रीको विकल्प खोज्ने नरहेको बताएका हुन् ।

देश सञ्चारसँग उनले भने, ‘केपी शर्मा ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन खोजिए सिस्टम नै धराममा पर्छ । सिस्टम जोगाउनका लागि पनि अहिले विकल्प खोज्ने समय होइन ।’

नेकपाका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षीय नेताहरुले मंगलबारदेखि स्थायी कमिटि बैठकमा ओलीले प्रधानमन्त्री तथा अध्यक्षबाट राजीनामा दिनु पर्ने माग चर्को रुपमा उठाएका छन् ।

पार्टीमा लगभग घेराबन्दीको अवस्थामा परेका प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षात्मक रणनीतिक तय गर्नका लागि आफू पक्षीय मन्त्री तथा नेताहरुसँग बुधबार बिहान बालुवाटारमा छलफल गरेका थिए ।

त्यसपछि झण्डै एक घण्टा बसेको बुधबारको स्थायी कमिटि बैठकमा बोलेका पाँच मध्ये चार नेताले ओलीको राजीनामा मागेका थिए । तर ओली पक्षीय नेताले भने नेताहरुले गुटगत स्वार्थलाई भन्दा राष्ट्रिय हितलाई केन्द्रमा राख्ने आश रहेको बताउँदै यदि त्यस विपरित विकल्प खोजिए प्रणाली नै धरापमा आउने चेतावनी दिएको हुन् ।

अधिकांश अप्ठ्यारो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाउँदै आएका प्रधानमन्त्री ओलीले अहिलेको संकटमा पनि राष्ट्रपतिसँग नजिकबाट परामर्श गरिरहेका छन् ।

उनले मंगलबारको स्थायी कमिटि बैठिक अघि र पछि गरी राष्ट्रपतिसँग परामर्श गरेका थिए । सो छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीसहित अरु चार जना पनि सहभागी भएको ती नेताले बताएका छन् ।

त्यस क्रममा प्रधानमन्त्रीको विकल्प खोज्न थालियो भने कसरी अगाडि बढ्ने भन्ने बारे छलफल भएको स्रोतले जनाएको छ ।

यसैबिच बुधबारको स्थायी कमिटि बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधनको शोक प्रस्तावका लागि संसदमा जानु पर्ने भनेर एक घण्टा मै स्थगित गरिएको भए पनि ओलीले आफ्नो रक्षाका लागि रणनीति बनाउन थप समय लिने प्रयास स्वरुप स्थगित गरिएको विश्लेषण गरिएको छ ।

नेकपा संसदीय दलका नेता सुवास चन्द्र नेम्वांगले स्थायी कमिटिमा पूर्व प्रधानमन्त्री तथा मन्त्री समेत रहेका नेताहरु सांसदको निधनमा शोक व्यक्त गर्न संसदमा जानु पर्ने बताएका थिए । त्यसपछि बैठक बुधबारका लागि स्थगित भयो ।

प्रधानमन्त्री ओली अहिले पनि आफ्नो रक्षात्मक रणनीतिका लागि परामर्शमा छन् ।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्