हाम्रो आवाज पनि सुन्नुहोस्- १४

सुस्त श्रवण परेनन् सरकारको प्राथमिकतामा

खै, कसरी भनुँ जिन्दगीका भोगाइहरु। जिन्दगी जिउन त्यति सजिलो छैन रहेछ। जीवनमा धेरै दुःखहरु भोगेँ, कति कठिनको समयहरु बिताए। यी छोराछोरीको लागि कति धेरै अरुको अपमान सहेँ, त्यो त एउटा आमालाई मात्र थाहा छ। किन मेरो जीवनमा यति ठूलो बज्रपात आयो? मेरो जीवनमा यस्तो अँध्यारो छाउँछ भनेर सोचेकोसम्म पनि थिइन। किनकि मेरो छोराछोरी नदेख्ने मात्र होइन, नसुन्ने पनि हो। अहिले मेरो छोराछोरी यो ठूलो समस्यामा झेलिरहेका छन्। छोराले भन्छ- ‘भगवानले हाम्रो सब थोक राम्रो बनायो तर आँखा र कान बनाउन जानेन।’ बच्चाको यस्तो कुरा सुन्दा कुन आमाको मन बसमा बस्ला र? उनीहरू दुई जना र उनका बाआमा यति ठूलो समस्यामा झेलिरहेका छन्, सम्झँदा पनि कहाली लाग्छ। यो कहालीलाग्दो मनको व्यथा कसलाई सुनाउँ र कसलाई भनुँ जस्तो लाग्छ। आज यो मनको बह सबैको सामु लेख्दैछु। यी दुईटा बच्चाहरूका प्रश्नहरू ‘किन हाम्रो भाग्य यस्तो भयो?’ ‘यदि हामी पनि देख्न सकेको भएका का पुग्थौ के के गर्थौ’‘किन हाम्रो भाग्यमा खोट लाग्यो?’यी प्रश्नहरू सुन्दा मलाई पनि यहि लाग्न थाल्यो, नियतिले एउटा ठूलो खेल खेल्यो मेरो जीवनमा। अरुले त भन्नु हुन्छ पीर नलिनुस्, तर भन्नु र भोग्नुमा धेरै फरक पर्दो रहेछ। सायद अब पीडामा जीउने बानि परिसक्यो।

जिन्दगीमा धेरै पीडा सहनु त थियो नै। भाग्यले ठगेपछि कस्को के लाग्दो रहेछ? म घरको पहिलो भित्राइएको जेठी बुहारी थिए। त्यसैले घरमा सन्तानको रहर त हुन्छ नै। पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो तर नदेख्ने। दैवको लीला कस्ले बुझ्न सक्छ र? पहिलो सन्तान भएर होला सबैको मायामा हुर्काइयो। उपचार गर्न धेरै कोशिश गरियो, तर उपाय लागेन। दिनहरु यसरी नै बित्दै थियो घरमा कसरी पढाउने भन्ने चिन्ता बढ्न थाल्यो। गाउँमा घर नजिक एउटा स्कूल थियो त्यो स्कूलमा एक महिना लगियो तर नदेख्ने हुनाले छोरीले पढ्न सकिन तर पढ्न धेरै मन र स्कूल जान धेरै मन गर्थी। दिनहरु यसरी नै बित्दै थियो। एकदिन एकजना गाउँको भाइ आउनुभयो र भन्नुभयो- मैले एकजना दिदी चिनेको छु। यो नानीको पढाइको लागि कुरा गर्छु भन्नु भयो र भाइले निरा मिसको मार्फत ललितपुरको नमुना मछिन्द्र माबि लैजानुभयो। उक्त स्कूलमा पढ्दापढ्दै छोरी झन् नबोल्ने हुँदै गई र त्यो स्कूलमा पनि पढ्न सकिन र घर ल्याएँ। ६ महिना घरमा बित्यो। त्यसपछि फेरि स्कूलको मिसले फोन गर्नु भयो र तपाईँको नानी लिएर आउनुहोस् भन्नु भयो। मैले लिएर गएँ र मिसले भन्नु भयो- चिन्ता नलिनुस्, नानीलाइ छाडेर घर जानु भन्नु भयो। म घर नुवाकोट फर्केँ। छोरी होस्टेलमा बसेर पढ्न थाली।

मेरो सबै आशाहरु मरिसकेको थियो। किन यस्तो पीडादायी जिन्दगी भोग्नुपर्‍यो भनेर मैले सोचेको पनि थिइन। छोरी नदेख्ने र नसुन्ने पनि भएकोले त्यो स्कूलको मिस सरहरुलाई पढाउन निकै गाह्रो भएको थियो। म पनि बाध्यताबश केही गर्न सक्ने थिइन, कहाँ पढाउने के गर्ने भनेर। जबसम्म त्यस स्कुलले छोरीलाई स्वीकारेर जसरी पढाउँछ, ठिक छ। केही पनि नसिक्नुभन्दा त्यहाँ राख्दा केही त सिक्छे भनेर छोरीले घर छाडेर टाढाको स्कूलमा जस्तो समस्या भोगे पनि त्यो समस्यालाई वास्ता नगरी चुप लागेर बसेकी थिएँ। यो मन ढुंगा जस्तो बनाएको थिएँ छोरीको भविष्यको लागि।

स्कूलमा छोरी भेट्न जाँदा छोरीले हेरिङ एड लगाउन थालेकी रहेछ र सुन्न सक्ने र धेरै बोल्न सक्ने पनि भएकी रहेछ। यो मेरो लागि धेरै खुशीको कुरा थियो। मैले छोरी स्कूल पुर्‍याएपछि सुस्त श्रवणमा काम गर्ने श्रुति संस्थाले एउटा कार्यक्रम लिएर छोरीको स्कुल पुग्नु भएको रहेछ। स्कुलको विद्यार्थीहरूको कान जाँच गर्दा मेरो नानी कान नसुनेर बोल्न नसक्ने भएको कुरा पत्ता लगाउनु भएछ। श्रुति संस्थाले छोरी लाई हेरिङ एड र स्पिच थेरापीको लागि सहयोग गर्नुभएको रहेछ। हेरिङ एड लगाएपछि छोरीले आवाज सुनेर उसले दिएका जवाफहरु सुनेर म निकै नै खुशी भएँ। त्यति बेला उसको बोली पनि सफा थिएन। तोतेबोलिीमा दिएको जवाफ र उसको अनुहारमा छाएका खुसीका पलहरु म वर्णन गर्न पनि सक्दिन। श्रुति संस्थाको यो सहयोगको लागि मेरो मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु।

लामो बन्दले हेरिङ एडको ब्याट्री किन्न जान तथा बाबुको आँखाको परिक्षणको लागि अस्पताल जान पनि सकेको छैन। ब्याट्रीको लागि श्रुति संस्थामा पनि फोन गरेको थिए। तर सरकारले हेरिङ एड तथा हेरिङ एडको ब्याट्रीलाई अत्यावश्यकमा नराखेकोले हेरिङ एड सेन्टरहरू पनि बन्द छन् भन्नु भयो। उहाँहरूले हेरिङ एड सेन्टरहरूलाई फोन गरेर ब्याट्री किन्न सक्ने व्यवस्था त मिलाइदिनु भयो तर लिन चाहि आफैँ काठमाडौँसम्म जान पर्ने रहेछ। लिन जान वा कसैलाई पठाउन आफ्नो साधन छैन।

नियमित रूपमा गर्नु पर्ने स्पिच थेरापी जान पनि मलाई नुवाकोटबाट छोरीको स्कूलको होस्टेल लगनखेल गई त्यहाँबाट स्पिच थेरापी गर्ने ठाँउ थापाथली जान आउन निकै नै गाह्रो थियो। तै पनि बेला बेलामा जान्थेँ। मैले नभ्याएको बेलामा स्कूलकै सर मिसहरुले लगिदिनु हुन्थ्यो। स्पिच थेरापी गरेपछि बिस्तारै उसले शब्दहरु राम्रोसँग बोल्न थालेकी थिई तर संस्थाले पनि सधैँ भरि सहयोग गर्न नसक्ने र हाम्रो आर्थिक अवस्थाले सँधैभरि निरन्तरता दिन सम्भव नभएकोले जानको लागि बन्द गरियो। तै पनि अलि अलि भए पनिअहिलेको छोरीको प्रगति देख्दा खुसि छाएको पनि छ। कता कता दुःख पनि छ। छोरी ठूली हुदै जाँदा अब उसले कसरी स्वतन्त्र भई जीवन बिताउछे भनेर।

छोरीले बेलाबेलामा कान रेडियोमा जोडेर गितको आवाज सुन्छे र आवाज बुझे पनि नबुझे पनि त्यसको तालमा गुनगुनाउँछे र नाच्छे। मेरो मोबाइल बजेको बेलामा उठाएर एकोहोरो बोल्छे। केही दिनअगाडि मात्र म रोपाइँमा गएको बेला श्रुति संस्थाबाट फोन आएको रहेछ। छोरीले कुरा गरिछ। बेलुका म फर्केपछि भन्दै थिई, ‘निता म्यामको फोन आएको थियो, मैले निता म्याम चिनेँ। हजुरको के छ भनेर सोधेँ ।’ उता म्यामले मलाई खोज्नु भएको रहेछ तर दुवै जना कान नसुन्नेहरूले एकोहोरो कुरा गरेको थाहा पाएर म पनि दंग परेँ। छोरीको लागि सहयोग गरेको तथा छोरा पनि नसुन्ने र नदेख्ने थाहा भएको हुनाले श्रुतिबाट बेलाबेलामा सोधिरहनु हुन्छ। छोरीलाई जस्तै छोराको लागि पनि केहि गरिदिन सक्नु हुन्छ कि भन्ने आशामा छु।

बाबु पनि शुरुमा ४-५ बर्षको उमेरसम्म राम्रैसँग सुन्थ्यो। बिस्तारै कान कम सुन्ने हुँदै आएको हो। पहिला उसले हेरिङ एड लगाएको थिएन। बिस्तारै सुनाई र बोलीमा पनि असर पर्दै गएकोले हेरिङ एड लगाउन थाल्यो र स्पिच थेरापी पनि गराउन थालेँ। हाल २ बर्ष भयो हेरिङ एड लगाउन थालेको। अहिले ऊ १५ बर्षमा लाग्यो, कक्षा ३ मा पढ्छ। उसको पनि कान र आँखा दुवै कमजोर हुँदै गएको छ। आँखा झन् झन् कमजोर हुँदै गएको कारणले काठमाण्डौंको दृष्टिबिहीन पनि पढ्ने एउटा स्कूलमा पढाउने सल्लाह दिनु भएको कारणले त्यो स्कूलमा भर्ना गरी, त्यही नै पढाउन थालियो।

आँखा कमजोर भएको कारणले बाबुले अहिले स्कूलमा ब्राइलबाट पढ्दछ। तर आँखा कमजोर भएकाको लागि ठूलो अक्षरमा लेखेको पाठ्यपुस्तक प्रयोग गरि पढ्न सकिने पनि छ रे भन्ने थाहा पाएर बाबुले पनि अलि अलि देख्ने र मोटो चस्मा लगाउने हुनाले मसीले नै लेखेको पढाउन सकेको भए हुन्थ्यो भन्ने मेरो मनको इच्छा अहिलेसम्म छ। तर सरले ब्राइलबाट पढ्न सुरू भइसकेकोले फेरि मसीबाट पढाउदा गाह्रो हुन्छ भन्नुहुन्छ। जसरी मेरी छोरी झण्डै पूरै बहिरा जस्तो भई सकेकी थिई र मेरो आशा पनि मरिसकेको थियो। पछि हेरिङ एड लगाएपछि अलि बोल्न र सुन्न थाली। आखिर बाबु अहिले सम्म पूरै नदेख्ने पनि होइन। उस्ले पनि अलि अलि देख्ने र मोटो चस्मा लगाउने हुनाले छामेर मात्र नभई मसीले नै लेखेको पनि पढाउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ खै।

छोराछोरी दुवै स्कूलमा हुँदा भने हामी दुवैलाई काममा जान आउन अलि सजिलो हुन्थ्यो। अहिको बन्दाबन्दीले दुवैजना घरमा हुँदा हामी दुबैले छोडेर हिँड्न नमिल्ने। यसो २-४ दिन त नछोड्न पनि सकिएला तर यति लामो समय सम्म दुबैले काम नगर्दा त हाम्रो ज्यालापानीमा नै असर गर्छ। काममा जानै पर्छ। के गर्नु घर खर्चको लागि पनि दिनहुँ काम नगरी भएन। घर वरिपरिका छरछिमेकहरुले पनि छोरा छोरीहरुको ख्याल गरिदिन्छन् बेलाबेलामा। छोरा छोरीहरु पनि खै स्कूल कहिले खोल्छ भन्छन् के गर्नु?

लामो बन्दले हेरिङ एडको ब्याट्री किन्न जान तथा बाबुको आँखाको परीक्षणको लागि अस्पताल जान पनि सकेको छैन। ब्याट्रीको लागि श्रुति संस्थामा पनि फोन गरेको थिए। तर सरकारले हेरिङ एड तथा हेरिङ एडको ब्याट्रीलाई अत्यावश्यकमा नराखेकोले हेरिङ एड सेन्टरहरू पनि बन्द छन् भन्नु भयो। उहाँहरूले हेरिङ एड सेन्टरहरूलाई फोन गरेर ब्याट्री किन्न सक्ने व्यवस्था त मिलाइदिनु भयो तर लिन चाहि आफैँ काठमाडौँसम्म जान पर्ने रहेछ। लिन जान वा कसैलाई पठाउन आफ्नो साधन छैन।

(लेखिका आँखा कम देख्ने तथा कान कम सुन्ने दुई छोराछोरीका आमा हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्