के भारतले गर्दैछ चीनसँग युद्धको तयारी?

के छ लेह र तपाईँको हालचाल? ‘म्यासेन्जर’  मार्फ़त मैले लेहवासी औषधि व्यवसायी मित्रलाई सोधेँ।

अप्रिल मध्यदेखि गुल्जार हुन शुरू हुने यो हिमाली उपत्यका जून १५ पछि पूरा मस्तीमा आउँछ।  लद्दाखको प्रसिद्द हेमिस मोनस्ट्रीले यसै बेला आफ्नो वार्षिकोत्सव मनाउँछ। हेमिसको यस उत्सवमा सरीक हुन विश्वभरिबाट हजारौँ  मानिस लेह आउँछन्। जून पहिलो सातापछि  ‘कोल्ड डेज़र्ट’का नामले चिनिने  यो उपत्यका सड़क मार्गदेखि शेष भारतसँग जोडिन पुग्छ। अक्टूबरको अन्त्यदेखि जूनको पहिलो सातासम्म ४७३ किमी लामो मनाली- लेह राजमार्ग र ४३४ किमी लामो श्रीनगर -लेह राजमार्ग बन्द हुने गर्छन्।  ५३०० मिटरसम्म अग्ला रहेका यी सडक अक्टोबरदेखि मे अन्त्यसम्म हिउँले ढाकिएको हुन्छन्। सड़क मार्ग खोलिएपछि  जून -सेप्टेम्बरसम्म लेह भने अनेकौँ देशका पर्यटकले भरिभराउ रहन्छ।

‘नसोध्नुस् यार! सब बर्बाद छ, खत्तम छ। पहिला चीनबाट आएको कोरोनाको आतंक, अब सोझै चीनको आतंक। थाहा छैन, हाम्रो भविष्य के हुने हो?’

‘के लेहका स्थानीयहरुमा पनि युद्धको यत्रो आतंक छ ? चीनसँग तनाव त सीमावर्ती क्षेत्रमा मात्रै होइन र?’

‘सम्पूर्ण लद्दाख छ नै कत्रो? ५९ हज़ार वर्ग किमीको लद्दाख। हाम्रो सम्पूर्ण सीमाना नै चीनसँग जोडिएको छ। सीमामा प्रत्येक ठाउँमा चिनियाँ सेनाको उपस्थिति छ।  रोडबाट पो गलवान घाटी २२० किमी छ।  ‘एयर डिस्टेंस’ त दस मिनेटको पनि छैन। हामी  त प्रत्येक क्षण मिसाइल आएर ध्वस्त बनाउने संत्रासमा बाचेका छौँ।’

‘तपाईँलाई के लाग्छ -भारत -चीन बीच युद्ध  नै हुन्छ ?’

‘हामीजस्ता सामान्य मानिसले यसबारे के नै भन्न सक्छौ ? तर भारतको तयारी हेर्दा छाँटकाँट राम्रो छैन।  लेहको वातावरणमा अहिले गुम्बाहरुबाट आउने पूजापाठको आवाज़ सुनिदैन। आर्मीका गाड़ी, टयांक, सुखोई, मिग, मिराज, तेजस, जगुआर जस्ता लड़ाकू विमान र एम आई -२४, चेतक, चीता, ध्रुव, चिनूक,अपाचे हेलिकाप्टरका आवाज़ले पूरा  भ्याली नै थरथराइरहेको छ। यहाँ लाखौँ भारतीय सैनिक आइसकेका छन्।’

‘सेनाले २ वटा थप रेजिमेन्ट पठाएको होइन?  लाखौँ सैनिक त कहाँ हुन्छन् दुई रेजिमेन्टमा?’

‘तपाई आफैँ पत्रकार, तपाईँलाई मैले केही भनिराख्नु पर्दैन। रक्षा र सेनासँग सम्बन्धित समाचार एउटा आउँछ, ‘ग्राउन्ड रियालिटी’ अर्कै हुन्छ।  अहिले सम्पूर्ण लद्दाखमा जताततै आर्मीका गाड़ी बाहेक अन्य कुनै गाड़ी छैनन्। मलाई थाहा छैन-  भारतसँग कति वटा लडाकु जहाज छन् तर यहाँ लेहको आकाशमा सयौँ लडाकु जहाज उडिरहेका छन्। सम्पूर्ण लद्दाखमा युद्धकै वातावरण छ।’

मित्रको कुरामा मलाई किञ्चित पनि सन्देह लागेन।  भारत र चीनसँग युद्धका साजोसामानको कुनै कमी छैन। दुबैसँग आफूले बनाएका बाहेक संसारभरिबाट किनिएका एक से एक घातक -मारक -संहारक अस्त्र -शस्त्र र उपकरण छन्।

दुबै देशबीच व्याप्त उच्च तनावको अवस्थामा चीनबाट युद्धको तयारी विषयक समाचार प्राप्त नभए पनि भारत तर्फबाट भइरहेको तयारीबारे धेरै कुरा प्रकाशमा आइसकेका छन्। यी  सबै समाचार सार्वजनिक हुँदा पनि अझै केही सैन्यविद् र अन्तर्राष्ट्रीय राजनीति एवं कूटनीति विषयक जानकारहरुलाई आशा छ- रूसको सक्रिय भूमिकाले भारत र चीन बीच संभावित युद्ध टर्न सक्छ।  यसो हुन सकेमा  निश्चय पनि समग्र मानवताकै ठूलो हित हुन्छ।

तर के यसका लागि चीन तयार हुन्छ?

कोरोना प्रकरण पछि चीन अनेक प्रकारले घेरिएको छ। भाइरसको उत्पत्तिदेखि लिएर भाइरस संक्रमण व्यापक हुनुमा चीनको भूमिकामाथि प्रश्न मात्रै होइन, गम्भीर आरोप नै लागेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको यस विषयक दृषिकोण र अडान सर्वविदित नै छ।  कैयन देशको ठुलठूला कम्पनीले चीनमा रहेका आफ्ना औद्योगिक संन्यत्र अन्यत्र लैजाने घोषणा गरिसकेका छन्।  कतिपय ठूला कम्पनीले यस विषयक पाइला नै चालिसकेका छन्।  निसन्देह भारत यस्ता कम्पनीहरुको लागि प्रमुख आकर्षणको केन्द्र रहेको छ।  हज़ारभन्दा बढी कम्पनीले चीन छाड्ने घोषणा गरिसकेका छन्।  गुजरात, महाराष्ट्र, तमिलनाडु, आंध्र प्रदेश, राजस्थान, उत्तर प्रदेश लगायतका राज्यमा यस कार्यका लागि भारत सरकारले झण्डै ४ लाख ६१ हज़ार हेक्टर भूमि खोजी सकेको छ।  सयभन्दा बढी अमेरिकी कम्पनी उत्तर प्रदेश सरकारको सम्पर्कमा छन्।

यसका अतिरिक्त अमेरिका, जापान,अस्ट्रेलियालगायत कतिपय यूरोपियन देशले विभिन्न किसिमले चीनमाथि प्रतिबन्ध लाउने योजना बनाइरहेका छन्। चीनको लागि स्थिति सहज छैन।  यी देशको विभिन्न किसिमको प्रतिबन्ध र हज़ारौँ ठूला कम्पनी चिनिया भूमि छाडेको स्थितिमा चीनको आर्थिक बादशाहत कुन हालतमा पुग्छ जो कोहीले  पनि सहज अनुमान गर्नसक्छ।  चीन निश्चय पनि पहिलो विश्वयुद्ध पछि जर्मनी लत्रिएर बसेझैँ बस्दैन।  चीन विश्व सामु झुक्न तैयार हुन्छ अथवा कसैले उसलाई बाध्य बनाउन सक्छ यो पत्याउने आधार फिट्टिकै छैनन्।

विवाद सीधै चीन र भारतका मध्य भएको भए अर्को कुनै राष्ट्रको (रूस) मध्यस्तताले सुल्झिन सक्थ्यो तर वर्तमानमा दुबै देश बीच चर्किँदै गएको स्थितिको कारण  ‘लाइ ऑफ़ एक्चुअल कन्ट्रोल’ को उल्लंघन, अतिक्रमण वा भारतले ‘एलएसी’ सम्म बनाउँदै गरेका सडक कारण हुँदै होइन। चीनलाई  जुनसुकै हिसाबले कुनै बलियो छिमेकीसँग तनाव बढाएर विश्वको ध्यान आकृष्ट गर्नु पर्ने बाध्यता छ।  यसको लागि भारत बाहेक अन्य कोही उपयुक्त पात्र छैन।  भारतमा विगतका भांति ‘नेहरू लिनेज’ सत्तामा भएको भए चीनको यो चाल सफल हुन्थ्यो। तर अहिले भारतमा राष्ट्रिय स्वयं सेवक संघका शाखाहरुमा ‘नमस्ते सदा वत्सले मातृभूमे, त्वया हिन्दुभूमे सुखं वर्धितोहम्। महामङ्गले पुण्यभूमे त्वदर्थे,पतत्वेष कायो नमस्ते नमस्ते’ गाएर हुर्केकाहरु शासन सत्तामा छन्। अहिलेका भारतीय शासकहरुको जीवन नै महाभारत, गीता, रामायण र आफ्ना अवतारद्वय राम र कृष्णको जीवन दर्शन पढ्दै बितेको हो। युद्ध उनीहरुका लागि धर्मक्षेत्र नै हो।

चीनका लागि वर्तमान परिस्थिति नै यस्तो बन्न पुगेको छ -युद्धमा जाने कि युद्धबाट विमुख भई झण्डै आत्महत्याको विकल्प रोज्ने! निश्चय पनि चीनले पहिलो विकल्प रोज्छ।

कोरोना विश्वको अन्य सबै देशका लागी ठूलो अभिशाप भए पनि भारतका लागि भने वरदान साबित हुन गइरहेको छ।  चीनको आर्थिक उन्नतिमा सहायक बनेका अनेको कम्पनी भारत आउन  इच्छुक छन्।  २-३ वर्ष भित्रै हज़ारौँ कम्पनी भारत भित्रिने  छन।  चीन यसै कारणले भारतसँग तनाव चर्काएर ती कम्पनीलाई भारत अशान्त र अस्थीर भएको देखाएर तिनलाई रोक्ने प्रयासमा छ। तर  चीनको यो दाऊ उल्टो हुन गयो।  यी कम्पनीसँग सम्बधित रहेका देश नै भारतको पक्षमा उभिन आइपुगे।

दुबै बीच युद्ध भयो भने यो चीनको रहर होइन बाध्यताले (एलएसी र केही वर्ग किमी भूमिको कुरा होइन) हुन्छ।  विश्वको तेश्रो महाशक्ति हुँदाहुँदै  के ऊ आफ्नो आर्थिक बादशाहत छिन्न भिन्न हुँदै गएको टुलुटुलु  हेरेर बस्न सक्छ अथवा चिनियाँ राष्ट्रियता र सम्प्रभुताले यसको अनुमति दिन्छ? सेनामाथि खर्च गरिएको खरबौँखरब डलरको उपयोगिता के रहन्छ?

गलवान घाटीमा २० जना  सैनिकको शहादतले नै भारत युद्ध जितेको अवस्थामा पुगिसक्यो।  दुबै बीच ठूलै युद्ध भएमा त्यसको परिणाम के होला- त्यो समयले नै बताउँछ तर अहिलेसम्मको स्थितिमा भारतले चीनमाथि आर्थिक युद्धमा विजय पाई सक्यो।  भारतभरि चीन विरुद्ध ‘वॉलेट’ युद्ध शुरू भएको छ।  जनस्तरमा चिनियाँ सामानमाथि स्वतः स्फूर्त प्रतिबन्ध र बहिष्कारको ट्रेन्ड चलेको छ।  ठूला ठूला ठेक्कापट्टाबाट चिनियाँ कम्पनी हटाउने क्रम थालनी भएको छ।  हरियाणा, महाराष्ट्र, उत्तर प्रदेश र भारतीय रेलवेले हजारौँ करोड़का ठेक्काबाट चिनियाँ कम्पनीलाई बर्खास्त गरेका छन्।  भारतभरि  नै यो क्रम जारी  छ।

चीनसँग युद्ध भए पनि नभए पनि भारत तनावको यो स्थिति  कायम राख्न चाहन्छ ।  यस तनावले १९९१ पछि चिनियाँ सामानले ध्वस्त भएको भारतको लघु ,मझौला र अन्य विभिन्न उधोगले पुनः फस्टाउने मौका पाउने छन्।

दुबै बीच युद्ध भयो भने यो चीनको रहर होइन बाध्यताले (एलएसी र केही वर्ग किमी भूमिको कुरा होइन) हुन्छ।  विश्वको तेश्रो महाशक्ति हुँदाहुँदै  के ऊ आफ्नो आर्थिक बादशाहत छिन्न भिन्न हुँदै गएको टुलुटुलु  हेरेर बस्न सक्छ अथवा चिनियाँ राष्ट्रियता र सम्प्रभुताले यसको अनुमति दिन्छ? सेनामाथि खर्च गरिएको खरबौँखरब डलरको उपयोगिता के रहन्छ? चीनले भर्खरै रूससँग किनेको ‘एन्टी एयर क्राफ्ट मिसाइल सिस्टम S – ४००’ कै मात्र कुरा गर्ने हो भने यसको एक यूनिटको मूल्य एक अर्ब डलरभन्दा बढ़ी रहेको छ। चीनसँग ४-६ वटा  S -४०० सिस्टम रहेका छन्।  यी तैनाथ रहेको ४०० किमी सम्मको आकाश, पृथ्वी र समुद्र जहाँको पनि दुश्मनको घुसपैठलाई अचूक ढंगले ध्वस्त गर्न सकिन्छ।

४ हजार किमी प्रति घन्टाको वेगले हानिएर अघि बढ़ने यसका मिसाइलले कुनै पनि जहाज उम्किन सक्दैनन्। मिसाइलमै रडार जडान  गरिएको हुन्छ। मिसाइलले  ‘टारगेट’ लाइ पीछा गर्न थालेपछि जहाजको पाइलटले जतिसुकै चतुर्‍याइँ गरे पनि मिसाइलले जहाजलाई ध्वस्त बनाई छाड्छ। शत्रुले आफूमाथि गरिएका मिसाइल यस सिस्टम ले ४०० किमी परबाटै ‘डिटेक्ट’ गरेर तिनलाई आकाशमै नष्ट गरिदिन्छ। कल्पना गर्नुस्- चीनले लद्दाखको गलवान घाटी, सिक्किमको डोकलाम क्षेत्र र अरुणाचल प्रदेशको तवाङ घाटी क्षेत्रमा एक- एक S -४०० सिस्टम राखी दिने हो भने ४०० किमीको ‘रेन्ज’ भनेको भारतभित्र नै जहाज उड़न गाह्रो हुन्छ।

भारतले  अमेरिकाको  चर्को दवाब हुँदा हुँदै पनि रूससँग  ५ दशमलब ४३ अर्ब डलरमा ५ वटा S -४०० किनेको छ। अमेरिकाले भारतलाइ आफ्नो ‘थाड़ डिफेन्स सिस्टम’  ( Terminal High Altitude Area Defense – THAAD ) किन्न दबाब दिएको थियो ,तर यसको रेन्ज २०० किमी मात्रै र राडार  ‘भरटिकल’ नभएका कारण भारतले S -४०० नै किन्यो। भारतसँग अझैसम्म S -४०० आइ पुगेका छैनन्। यो  ‘डिफेन्स सिस्टम’ सबैभन्दा बढी दूरीसम्म शत्रुका आक्रमण पहिचान गर्न सक्षम हुन्छ।  यसका अतिरिक्त  चीन र भारतसँग अन्य थुप्रै ‘डिफेंस सिस्टम’ पनि छन्।

यो लेख तयारी गर्दा भर्खर भारतले चीनमाथि थप कारवाही गरेको समाचार आएको छ।  भारतले चीनमाथि ‘डिजिटल सर्जिकल स्ट्राइक’ गरेको समाचार आएको छ।  भारतले चीन निर्मित वा चीन सम्बंधित विभिन्न ५९ वटा मोबाइल एप्लीकेसन प्रतिबन्धित गरेको छ। अब भारतभरि यी ५९ वटा ‘मोबाइल एप’ प्रयोग गर्न पाइन्न।  भारतको यो घोषणा  चीनसँग तनाव, द्वन्द अथवा  युद्धको दिशामा अगाडि बढेको अर्को सशक्त पाइला हुनसक्छ भन्ने अनुमान गर्नु गलत हुँदैन।

यसै बीच भारतको मोदी सरकारले जम्मू काश्मीर र लद्दाख प्रान्तमा आवश्यक वस्तुहरुको २  महीनाका लागि आवश्यक पर्ने अतिरिक्त सप्लाई गर्ने आदेश जारी गरिसकेको छ।  यी दुबै राज्यका स्कूल- कालेज- अन्य ठूला भवन खाली गराएर  सेनालाइ बस्ने प्रबंध मिलाउन पनि राज्य सरकारका अधिकारीहरुलाइ केंद्र सरकारले आदेश दिइसकेको छ। उता चीनले पनि हङकङ विषयक नयाँ व्यवस्था जारी गरेर आफू अमेरिका लगायत कसैको दवाबमा  नरहेको अथवा दवाबमा नआउने स्पष्ट गरेको छ।

‘लाइन अफ एक्चुअल कन्ट्रोल’मा दुबै देशका सेना बीच  एरिया कोर कमान्डर स्तरमा  १५ जूनको झडपपछि पनि वार्ताको क्रम जारी छ।  २२ जून पछि ३० जूनमा दुबै सेनाका एरिया कोर कमांडर बीच वार्ता भइरहेको छ। तर एरिया कोर कमांडर बीचको वार्ताको अब कुनै औचित्य बाँकी छैन।  भारतमा जनस्तरबाटै उठेको चीन विरोध र बहिष्कार र केन्द्रीय सत्ताबाटै चीन विरुद्ध एकपछि अर्को प्रतिबन्धको घोषणाले अब दुबै देशका राष्ट्राध्यक्ष बीच वार्ता नभएसम्म शान्ति र युद्ध टर्ने आश गर्न सकिन्न।

जुनसुकै कारण र जुनसुकै मूल्य चुकाएर  भए पनि युद्ध टर्नु भनेको  मानव जातिकै हित र कल्याणमा हुनेछ भन्नेमा दुई मत हुन सक्दैन।  किनकि अब दुई शक्तिशाली राष्ट्रका बीच हुने युद्ध विगतका युद्ध झै हुने छैनन्। विज्ञान र प्रविधिले युद्ध प्रविधिलाई चरमसम्म विकसित गरिसकेको छ। महाभारतकालीन लक्ष्यभेदी ,शब्दभेदी बाणझैँ मिसाइल बनिसकेको छ। यिनले हजारौँ किमी परबाट नै शहरलाइई ध्वस्त बनाउन सक्छन्। मुड़की, मुगरी, लठ्ठी, तारवार, धक्कामुक्की, ठेलमठेलबाट प्रारम्भ भएको २ देशको विवाद  कुन स्तरसम्म पुग्ने हो  कसैलाइ थाहा छैन। योभन्दा जटिलतातिर उन्मुख नभई यत्तिमै दुई देशका सेना आ आफ्नो सीमानामा फर्किने कुनै उपाय निस्किन सकोस्, यसमै  मानव जातिको  भविष्य र कल्याण निहित छ। युद्ध शुरू गर्ने, नगर्ने निर्णय र सामर्थ्य दुबै पक्षका पुरोधाहरुको हातमा हुन्छ तर एकपटक युद्ध शुरू भए पछि त्यसलाइ रोक्ने सामर्थ्य  कुनै पनि पक्षका पुरोधाको हातमा हुँदैन।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्