चार बर्षिय बालकलाई सङ्क्रमण भएपछि आमा–छोरा नै अस्पताल पठाइयो

झापा– झापामा एक चार बर्षिय बालकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

गौरीगञ्ज गाउँपालिकाको क्वारेन्टिनमा रहेका ती बालकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

कार्यालयका फोकल पर्सन जीवन चौलागाईंका अनुसार ती चार बर्षिय बालकलाई सङ्क्रमण पुष्टि भएपछि आमासहित उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा पठाइएको छ।

झापामा बुधबार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै झापामा सङ्क्रमितको संख्या २४९ पुगेको छ।
झापाको मेचीनगरमा ७, बुद्धशान्तिमा ५, गौरादहमा ७ र गौरीगञ्जमा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको चौलागाईंले जानकारी दिए।

मंगलवारसम्ममा भद्रपुरमा ६, मेचीनगरमा २०, बिर्तामोडमा २, कनकाईमा ८, अर्जुनधारामा ५, दमकमा ६, गौरादहमा ४, शिवसताक्षीमा २, बुद्धशान्तिमा ११, हल्दिवारीमा ८, कचनकवलमा १२९, कमलमा १, गौरीगञ्जमा १७, बाह्रदशीमा ८ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

झापाका सङ्क्रमितमध्ये १८८ जना उपचारपछि घर फर्किसकेका छन्।

असार १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्