हङकङमा चीनले लागु गरेको नयाँ सुरक्षा कानून अनुसार धरपकड सुरु

चीनले लागु गरेको नयाँ सुरक्षा कानून अन्तर्गत हङकङ प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न थालेको छ।

‘प्रदर्शन–विरोधी’ कानूनलाई आधार बनाएर हङकङ प्रहरीले बेलायती उपनिवेशन अन्त्य भएको २३ औँ वर्षगाँठ मनाउनका लागि भेला भएकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये १० जनालाई कानून उल्लंघन गरेको आरोप लगाइएको छ । त्यसमध्ये एकजना स्वतन्त्रता पक्षधरको झण्डासहितका व्यक्ति रहेका छन् । अरु झण्डै ३६० जनालाई ¥यालीकै क्रममा नियन्त्रणमा लिएको हो ।

चीनले विखण्डन तथा आतंकवाद नियन्त्रणका लागि भन्दै नयाँ सुरक्षा कानून हङकङमा बुधबार लागु गरेको हो । मंगलबार पारित भएको सो कानून बुधबार बेलायतले चीनलाई हस्तान्तरण गरेको दिन पारेर लागु भएको हो ।

तर प्रजातन्त्र पक्षधरहरुले चीनले लागु गरेको नयाँ कानूनले हङकङको स्वतन्त्रता तथा स्वायत्ततता गुम्ने बताउँदै आएका छन् । उनीहरुले सो कानून घोषणा भएदेखि नै विरोध गर्दै आएका छन् ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङ अलग छ ।

पछिल्लो समय चीनले हङकङको स्वायत्ततालाई कुण्ठित गर्न प्रयास गरिरहेको अधिकारकर्मी तथा प्रजातन्त्र पक्षधरहरुको भनाई छ । गएको वर्ष सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा दशौँलाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरे ।

प्रदर्शनका कारण विधेयक रोकियो र त्यसपछि फिर्ता लिइयो।

अहिले फेरि सुरक्षा कानूनलाई लिएर त्यहाँ विरोध चर्किएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि चीनको कदमको गम्भीर विरोध गरेका छन् ।

यसैबिच बेलायतले हङकङका ३० लाख बासिन्दालाई नागरिकताको प्रस्ताव गरेको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले हङकङका बासिन्दलाई बेलायतमा बसोबास गर्ने र नागरिकता प्रदान गर्ने प्रस्ताव गरिने बताएका छन् । नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता सीमित भएको बताए छन् ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्