न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिएका हुन् ।

लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो ।

आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्री प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्री क्लार्कको राजीनामा स्वीकृत गरेको बिहीबार पुष्टि गरेकी छन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रण लिनमा सफल भएको थियो । त्यहाँ कुल संक्रमितको संख्या १५ सय २८ रहेकोमा २२ जनाको ज्यान गएको छ । गएको महिना भाइरस फ्रि भएको भन्दै देशभित्र लागु गरिएका सबै प्रतिबन्ध फुकुवा भएको थियो ।

तर हालका दिनमा सीमा क्षेत्र तथा आइसोलेशन सेन्टरहरुको व्यवस्थापनलाई लिएर सरकारको आलोचना भएको छ । मृत्यु शैय्यामा रहेका अभिभावकलाई भेट्नका लागि आइसोलेशन सेन्टरमा रहेका दुईजनालाई बिना परीक्षण यात्रा अनुमति दिइएको थियो । पछि उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

क्लार्कले भनेका छन्, ‘म स्वास्थ्य मन्त्री हुँदा गरिएका सबै निर्णयहरुको जिम्मेवारी म लिन्छु ।’ अहिलेको अघि बढ्ने उपयुक्त समय रहेको उनले बताए । हाल देशमा कतै पनि कोरोना भाइरसको संक्रमण समुदाय तहमा नफैलिएको उनले बताएका छन् ।

क्लार्कले लकडाउन उल्लंघन गरेका कारण भएको विरोधपछि यसअघि नै राजीनामा प्रस्ताव गरेका थिए, तर देश महामारीसँग जुधिरहेको भन्दै प्रधानमन्त्री आर्डर्नले उनको राजीनामा स्वीकार नगरी बरियता घटुवा गरेकी थिइन् ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्