राष्ट्रपतिसँग झण्डै ४० मिनेट छलफल गरी बालुवाटार फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली।

काठमाडौँ – पार्टी भित्र संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याहन्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

बालुवाटारबाट बिहान ११ बजेपछि शीतल निवास पुगेका प्रधानमन्त्री ओली झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गरी फर्किएका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठक सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए ।

नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।

बिहीबार बिहान ओली पक्षीय नेताहरु मध्यमार्गी विकल्प लिएर छलफलका लागि खुमलटार पुगेका थिए । त्यहाँबाट आफू पक्षीय नेताले ल्याएको सन्देश सुनेपछि ओली शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर शीतल निवासमा के कुरा भयो भन्ने खुलाइएको छैन ।

ओली शीतल निवासबाट फर्किए लगत्तै स्थायी कमिटि बैठक सुरु भएको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्