संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ – संसदको बर्खे अधिवेशन अन्त्य हुने भएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले देश सञ्चारलाई जानकारी दिएका छन् ।

पार्टी भित्र संकटमा आएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किएपछिको मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग जोडदार रुपमा उठाइरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

अधिवेशन अन्त्य भएसँगै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध आउन सक्ने सम्भावित संकट तत्कालका लागि टरेको छ ।

प्रचण्ड–नेपाल पक्षले चाहेर पनि तत्काल संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यस्तै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुल्ला हुने भएको छ। यस्तै चाहेमा संकट काल लगाउने अधिकार पनि ओलीले पाउने छन् ।

संसदको विशेष अधिवेशन बोलाउनका लागि एक चौथाइ सदस्यले त्यसको माग सभामुख समक्ष गर्नु पर्छ । त्यसको जानकारी सभामुखले सरकारलाई गराएको १५ दिनपछि मात्रै विशेष अधिवेशनको प्रक्रिया सुरु हुने व्यवस्था रहेकाले तत्कालका लागि संसदमा ओलीको संकट टलेको हो ।

यो अधिवेशनबाट विवादास्पद एमसीसी विधेयक पारित गराउनु पर्ने भए पनि पार्टी भित्रैबाट विरोध भएपछि अघि बढ्न सकेन । तर एमसीसी पारित गर्ने अवधि थप्ने तयारी छ ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्