सुदूरपश्चिममा सञ्चालन भएको सैपाल ग्यासको बिक्री वितरण सुरु

धनगढी– सुदूरपश्चिममा स्थापना गरिएको सैपाल ग्यास उद्योगको उत्पादन बिहीबारदेखि बजारमा गएको छ।

एभरेस्ट ग्रुपले सैपाल ग्यास उद्योगमार्फत उत्पादित ग्याँस बिहीबारबाट बजारमा पठाएको छ। कैलाली र कञ्चनपुरका ४० वटा डिलरमार्फत ग्यास बजारमा पठाएको सैपाल ग्यास प्रालिका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए।

काठमाडौं उपत्यकामा समेत गरी ६ वटा ग्यास उद्योग रहेको एभरेष्ट ग्रुपले सैपाल ग्यासका लागि नेपाल आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको अधयक्ष घिमिरेले जानकारी दिए। यो संगै एभरेष्ट ग्रुपसंग ग्याँस उद्योगको संख्या ७ पुगेको छ।

करिव ३० करोड लगानीमा ४३ कट्टा जग्गामा कैलालीको गोदावरी नगरपालिका –१ मा उद्योग संचालन गरेको सैपाल ग्यासले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने संचालक घिमिरेले जानकारी दिए।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्षसमेत रहेका सैपाल ग्यासका सञ्चालक घिमिरेले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिमसँगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाइने बताए।

उनले भने, ‘न्युन मात्रामा उद्योगहरु रहेको सुदूरपश्चिममा सेवामूखि भावनाले हामीले उद्योग संचालन गरेका छौं, सबैको सहयोगले यसलाई थप बिस्तार गर्दै जाने छौँ।’

उनले यस पटक पहिलो वर्ष भएकोले बार्षिक ५६ करोडको कारोबार हुने अनुमान रहेको बताउँदै आगामी वर्षबाट थप बृद्धि हुँदै जाने उल्लेख गरे।

करिब ३१ वर्षदेखि पेट्रोलियम कारोबार गर्दै आएको एभरेष्ट ग्रुपले केहीदिन अघि मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकी श्रीमती निर्मलादेबी भट्ट लगायत ५ जनाको स्वामित्वमा रहेको उक्त ग्यास उद्योग १८ करोडमा किनेको थियो।

सुदूरपश्चिममा यो संगै ग्यास उद्योग दुईवटा भएका छन्। केही वर्ष अघिदेखि रेडियन्ट ग्यास उद्योग पनि कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीमै संचालनमा रहेको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्