प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३५ सय नाघ्यो

जनकपुरधाम– प्रदेश २ मा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ५ सय ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ महिला र ४७ पुरुष गरी कुल ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

धनुषामा सबैभन्दा बढी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै महोत्तरीमा १३, सप्तरीमा ८ र सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा १ जना, औरही गाउँपालिकामा २ जना, मिथिला नगरपालिकामा २ महिलासहित ६ जना, हंसपुर नगरपालिकामा २ महिलासहित १० जना र मुखियापट्टी मुसरनिया गाउँपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै महोत्तरीको मटिहानी नगरपालिकामा ७ जना र मनरा सिस्वा नगरपालिकामा एक महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

सप्तरीको बलान बिहुल नगरपालिकामा ८ जना र सिरहाको लहान नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेश २ मा ८ महिलासहित ५६ जना निको भएर घर फर्केका छन्। प्रदेश २ मा डिस्चार्ज हुनेको कुल संख्या १ हजार ९ सय २३ पुगेको छ भने ३ जनाको अहिलेसम्म मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्