एक वर्ष ब्याजदरमा छुट दिन घरेलु तथा साना उद्योग महासंघको सरकारसँग माग

काठमाडौँ– घरेलु तथा साना उद्योग महासंघले एक वर्षका लागि बैंकको ब्याजदरमा छुट दिनुपर्ने सरकारसँग माग गरेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले कोरोना कहरले बिगारेको अवस्थालाई सुर्धान बैंकको ब्याजदरमा एक वर्षसम्मका लागि छुटको माग गरेको बताए।

उनले भने, ‘लकडाउन खुकुलो भएपनि हाम्रा उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आइसकेका छैनन्। उद्योग संचालन गर्ने अवस्थामा आइसकेपछि हामी कर, ब्याज, सबै तिर्न तयार छौँ। हिजो पनि तिरेकै हो। पछि पनि तिर्छौँ। तर उद्योगहरु सहज स्थितिमा आउन दिनु पर्‍यो। सहज स्थितिमा ल्याउनका लागि बैंकको ब्याजदर कम्तिमा एक वर्षसम्मका लागि छुट दिन माग गरेका छौँ।’

उनले लकडाउन खुकुलो भएपनि २०/२५ प्रतिशत उद्योग पनि सञ्चालनमा नआएको बताए।

‘अहिले १० देखि १५ प्रतिशत मात्र उद्योगहरु सञ्चालनमा आएका छन्’, उनले भने, ‘जसमा आफै मालिक, आफै कामदार भएका उद्योगहरु छन्। सबै गरेर पनि २०/२५ प्रतिशत पनि उद्योग सञ्चालन छैनन्। बैंकको ब्याज, घर भाडा, विजुलीको बिल, कर, कामदारको समस्या, कच्चा प्रदार्थको अभाव लगायतका कारणले पनि उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन्।’

सरकारले ब्याजदरमा छुट दिने निर्णय गरे पनि बैंकहरुले त्यसको पालना नगरेको उनले गुनासो गरे। उनले बारम्बार सरकारी निकायसँग छलफल गर्दा पनि आफूहरुको माग पूरा नभएको बताए।

‘अहिलेको यस्तो संकटका बेला हामीलाई बैंकको सुविधाको खाँचो छ भनेर बारम्बार प्रधानमन्त्री लगायत अन्य सरोकारवालाहरुसँग पनि माग गरेका थियौँ’, उनले भने, ‘तर सरकार पक्षबाट यस सम्बन्धी आश्वासनसमेत आएन।’

लकडाउन अवधिभरको छुट दिने कुरा सरकारले लागु गर्नुपर्ने उनकाे भनाइ छ। यस्तै उनले राहतको दोस्रो प्याकेज पनि सरकारसँग माग गरिरहेको बताए।

‘दोस्रो राहत प्याकेजमा पनि बैंकको ब्याजदरमा छुट, कर छुट, पुनर्कर्जा लगायताका माग छन्’, उनले भने, ‘पहिले साना उद्योगलाई पुनर्कर्जा सम्बोधन गरिएको थिएन। तर यसपाली भने १५ लाखसम्मको लघु घरेलु उद्यमशिल कर्जा भनेर पुनर्कर्जा राखिएको छ।’

तर उक्त कर्जाको दायरा बढाउने पर्ने उनको भनाइ छ। ‘साना उद्योगहरुमा १५ करोड रुपैयाँसम्म लगानी भएको हुन्छ। हामीले ऋणको दायरा १५ लाख मात्र नगरेर लघु उद्योगलाई २५ लाख, घरेलु उद्योगलाई ५० लाख र साना उद्योगलाई एक करोडसम्म पुनर्कर्जा दिनुपर्छ’, उनले भने।

सरकारले आफूहरुलाई दोस्रो राहत प्याकेज ल्याउने आश्वासन दिएको पनि बताए। तर अहिलेको संकटमा पनि सरकारले सम्बोधन नगरे आफूहरुको अवस्था निकै नाजुक हुने भन्दै उनले चिन्ता व्यक्त गरे।

नेपालमा ४ लाख १८ हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्