एमसिसीबारे निश्चित निर्णयमा नपुगी संसद अधिवेशन अन्त्य गरिएको भन्दै नेपाली कांग्रेसको आपत्ति

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले एमसिसीबारे निश्चित टुंगोमा नपुगी संघीय संसदको अधिवेशन अन्त्य गरिएको भन्दै आपत्ती जनाएको छ। अधिवेशन अन्त्य गर्ने प्रकृयालाई सरकारले अवलम्बन नगरेको कांग्रेसको आरोप छ। सरकारले प्रमुख प्रतिपक्षी दलसँग यसबारे परामर्श नै नगरेको कांग्रेसको दावी छ।

मन्त्रि परिषद्को बैठकले संसद अधिवेदन अन्त्य गर्न गरेको सिफारिस बिहीबार केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्विकृत भएको थियो। संसदमा विचाराधिन अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन-एमसिसीको विरोध भइरहेका बेला सरकारले यसबारे निर्णय गर्न सकेको छैन। एमसिसी स्विकार गर्ने विषयमा सडकमा दिनहुँ प्रदर्शनहरु भइरहेका छन्।

‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो’, नेपाली कांग्रेसद्धारा बिहीबार साँझ जारी विज्ञप्तीमा भनिएको छ।

सत्तारुढ पार्टीभित्रको आन्तरिक विवाद र कलहका कारण संसदको अधिवेसन अन्त्य गरिएको दावीसहित कांग्रेसले भनेको छ- जनताको जिवन प्रधान कि सत्ताको राजनीति ? सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला संसदको सक्रियता आवश्यक भएको तर सत्तारुढ दलको आन्तरिक कलहका कारण त्यसलाई गौढ बनाएर अधिबेशन अन्त्य गरिएको कांग्रेसको भनाई छ।

 

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू