आफूलाई साम्राज्ञीले लगाएको आरोपको छानबिन गर्न अभिनेता भुवन केसीको माग

फाइल तस्बिर

काठमाडौँ– अभिनेता तथा निर्माता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाहले लगाएको दुर्व्यवहारको ‍आरोपको छानबिनको लागि कलाकार संघमा उजुरी दिएका छन्। बिहीबार फेसबुकमा निवेदनको तस्बिर सार्वजनिक गर्दै आफूले कलाकार संघमा उजुरी दिएको जानकारी दिएका हुन्।

उनको स्ट्याटसमा लेखिएको छ, हरेक कथाका तीनओटा पाटा हुन्छन्। अरुको, आफ्नो र सत्यको । र सत्य के हो ? त्यो अब नेपाल कलाकार संघ र कानुन ले नै फैसला गर्नेछ। यससम्बन्धी छानविनको लागि मैले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिई सकेको छु।’

भुवनले सार्वजनिक गरेको निवेदनमा आजकै मिति छ।

भुवनले साम्राज्ञीलाई चरित्र हत्या गर्न खोजेको भन्दै आरोप लगाएका छन्। साम्राज्ञीको कारणले सम्पूर्ण चलचित्र क्षेत्र नै बदनाम भएको भन्दै उनले छानबिनको लागि माग गरेका छन्।

नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाहले केही दिन अगाडि पाँच वर्षे करियरमा आफूले तीनओटा चलचित्रमा काम गर्दा नराम्रो अनुभव सँगालेको बताएकी थिइन्। त्यसपछि भुवनले फेसबुकमा नाम नतोकी हिरोइनलाई गालि गर्दै, ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने’ भनेका थिए।

भुवनको स्ट्याटस सार्वजनिक भए लगत्तै साम्राज्ञीले आफूलाई भुवनले जापानको एक कार्यक्रममा ‘पहिलाको कुरा बिर्सनको लागि आग्रह’ गरेको बताएकी थिइन्। त्यसपछि सार्वजनिक भएका भिडियोमा साम्राज्ञीले आफूलाई सञ्चारमाध्यमको गलत अभ्यास अनि आफूले दुर्व्यवहारको कुरा पहिला किन भन्न नसकेको भन्दै जानकारी गराएकी छन्।

बिहीबार भुवनले साम्राज्ञी विरुद्ध कलाकार संघमा उजुरी गरेका छन्।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्