हुम्लामा खुकुरी प्रहारबाट महिला गम्भीर घाइते

सांकेतिक तस्बिर

सिमकोट– हुम्लामा एक महिलामाथि खुकुरी प्रहार हुँदा घाइते भएकी छन्।

सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को साँया गाउँका छिमेकीबीच खानेपानी योजनाको निर्माणलाई लिएर विवाद हुँदा ४५ वर्षकी महिला हजारी साउँदमाथि खुकुरी प्रहार हो। खुकुरी प्रहारबाट आमा गम्भीर घाइते भएको पीडितका छोरा दन्त साउँदले बताए।

खेतमा काम गरेर घर फर्किएको बेला सो गाउँका नेत्र थापाका आमा–छोरा र अन्य एक जना युवा मिलेर खुकुरी तथा ढुङ्गा प्रहार गरी घाइते बनाएको उनले बताए। घाइते साउँदको स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेको उनले बताए।

आक्रमणमा संलग्न महिला झला थापा पनि घाइते भएर स्वास्थ्य चौकीमा उपचार गरि रहेको र उनको अवस्था सामान्य रहेको साउँदले बताए। खुकुरी प्रहार गर्ने थापासहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु जनाएको छ।

घाइतेको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि लैजाने व्यवस्थाका लागि गृह मन्त्रालयमा लेखिपठाएको र त्यसपछि उद्धार हुने प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले बताए।

थप अनुसन्धान र मुद्दा दर्ताका लागि उनीहरुलाई जिल्लामा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम सिमकोटबाट डेढ दिनको पैदल दूरीमा छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्