‌ओलीबाट धोका र राष्ट्रपतिबाट अपमान खेपेपछि टुट्यो दाहालको मन

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहालका लागि बिहीबारको दिन सुखद रहेन। आफ्नै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग धोका पाएका अध्यक्ष दाहालले आफ्नै दलकी राष्ट्रपतिबाट पनि अपमानको प्याला पिउनुपर्‍यो।

बिहीबार बिहान खुमलटारस्थित आफ्नै निवासमा प्रधानमन्त्री ओलीको सन्देश लिएर पुगेका ओली खेमाका नेताहरुको प्रस्ताव दाहालले अस्वीकार गरे पनि उनले टेलिफोनमा प्रधानमन्त्री ओलीसँग दुइटा समझदारी गरेका थिए- संसद्‌को जारी अधिवेशन अहिले नै नटुंग्याउने र स्थायी समितिकै बीच बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगन गर्ने।

तर, महासचिव बिष्णु पौडेलकै सामु अध्यक्ष दाहालसँग यी दुई समझदारी गरेका प्रधानमन्त्री ओलीले नेकपा स्थायी समितिकै समानान्तर हुने गरी मन्त्रिपरिषद् बैठक पनि सम्पन्न गरे भने त्यही मन्त्रिपरिषद् बैठकबाट संसद अन्त्य गर्ने सिफारिस पनि राष्ट्रपतिसमक्ष गरे। दाहाललाई बिहानमात्र दिएको वचन केपी ओलीले अर्को दुई घन्टा पनि पालना गरेनन्। आफ्नै अर्का अध्यक्षबाट दाहालले धोका पाए।

बिहीबार बिहान केपी ओलीको दूत बनेर उपप्रधानमन्त्री ईश्वर पोखरेल,  नेकपा महासचिव बिष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ खुमलटार पुगेका थिए, दाहालसँग भेट्न। नेम्बाङलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव दाहालले अस्वीकार गरेपछि महासचिव बिष्णु पौडेलबाहेक अन्य नेताहरु खुमलटारबाट निस्किए। महासचिव पौडेलकै सामु दाहाल र ओलीबीच टेलिफोन सम्वाद भयो जहाँ उनीहरु दुईबीच मन्त्रिपरिषद् स्थगन गर्ने र संसद अन्त्यको सिफारिस राष्ट्रपतिलाई नगर्ने समझदारी भयो।

तर, दाहालसँगको संवादपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले संसद् अन्त्यको जानकारी गराएका थिए।

११ बजेका लागि बालुवाटारमा तोकिएको स्थायी समिति बैठक ओली शीतल निवासबाट नफर्केका कारण ढिला भयो भने बालुवाटार फर्केपछि दाहालसँगको समझदारीविपरीत ‌ओली भने मन्त्रिपरिषद् बैठकतिर लागे। बैठकमा ओलीलाई प्रतीक्षा गरिरहेका स्थायी समिति सदस्यहरु हिस्स परे।

प्रधानमन्त्री ओली अनुपस्थित रहे पनि स्थायी समिति बैठक सुरु भयो जहाँ केशव बडालले ओलीका पक्षमा आफ्ना भनाइहरु राखे। स्थायी समितिका ४५ सदस्यमध्ये ३० जना प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने ओलीसहित १५ जना उनको पक्षमा। केशव बडाल पनि उनी पक्षमा रहेका केही नेताहरुमध्ये एक हुन्।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले संसद अन्त्यको सिफारिस गरे। बैठकमा माओवादीतर्फबाट मन्त्रीहरु बर्षमान पुन, शक्तिबहादुर बस्नेत र रामबहादुर थापा बादल भने अनुपस्थित थिए। उनीहरु स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको प्रतीक्षा गरिरहेका थिए। माओवादीका अर्का मन्त्री लेखराज भट्ट भने मन्त्रिपरिषद् बैठकमा उपस्थित थिए। दाहाल पक्षका शीर्ष मन्त्रीहरु अनुपस्थित रहेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद अन्त्यको सिफारिसमात्र गरेनन्, त्यो सिफारिस राष्ट्रपति भण्डारीले डेढ घन्टामै सदर पनि गरिदिइन्।

प्रधानमन्त्री ओलीबाट धोका पाएका अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे। राष्ट्रपति भण्डारी खाना खाँदै थिइन्। दाहालले आफूसँग भएको समझदारीविपरीत ओलीले संसद अन्त्यको सिफारिस ल्याएको र राष्ट्रपतिले त्यसलाई डेढ घन्टामै सदर गरिदिएको गुनासो राष्ट्रपति भण्डारीले मुसुमुसु हाँस्दै सुनिरहिन्। राष्ट्रपतिबाट कुनै जवाफ नपाएर अपमानित भएका दाहालले प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउनुहोला भन्ने जिज्ञासामा राष्ट्रपति भण्डारीले व्यंग्यमिश्रित आवाजमा भनिन्, ‘आजै ल्याउनुहोला र?’

दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिलाई तत्काल पारित नगर्न आग्रह गर्न पुगेका दाहाल शीतलनिवासबाट अपमानित भएर बालुवाटार फर्के।

बालुवाटारमा स्थायी समिति बैठक फेरि सुचारु गरे दाहालले। तर, ओली त्यो बैठकमा पनि उपस्थित भएनन्। बालुवाटारभित्रै आफ्नै निवासमा बिताए प्रधानमन्त्री ओलीले। स्थायी समिति बैठक केहीबेर चलेपछि दाहालले आफूले पाएको धोका र अपमान केही सदस्यहरुसँग अनौपचारिक रुपमा सेयर गरेका थिए।

बैठक ‌आइतबारका लागि फेरि निर्धारित गरेर दाहाल पार्टी एकता संकटमा परेको आकलन गर्दै आफ्नो निवास खुमलटारतिर लागे,  बिहीबार साँझ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्