प्रदेश–१ मा कोरोना भाइरस समुदायमा नफैलिएको मुख्यमन्त्री राईको दाबी

माेरङ– प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी कार्यबारे जानकारी गराएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै कोभिड–१९ को विषयमा गत वर्ष फागुनदेखि हालसम्मको अवस्था सार्वजनिक गरेको हो।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले विगतमा सरकारले कोभिड–१९ को विषयमा उठेका टिकाटिप्पणीलाई काम र व्यवहारले सहजिकरण गरेको बताएका थिए।

प्रदेश सरकारले क्वारेन्टिन निर्माण, कोभिड–१९ उपचार केन्द्र लगायत निर्माण गरिरहँदाको अवस्थामा धेरैलाई अचम्म लागेकाे र सरकारले उचित समयमा नै कोभिडलाई पराजित गर्न योजनाबद्ध रुपमा कार्य गरेको मुख्यमन्त्री राईले दावी गरे।

कोभिड–१९ लाई समुदाय तहमा फैलन नदिनका लागि प्रदेश सरकार पूर्णरुपमा नियन्त्रण गर्न सफल रहेको उनले बताएका थिए।

कार्यक्रममा प्रदेश सरकारले हालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा समान १ सय, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाँउ मोरङमा १ सय ३३, र कोभिड–१९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरमा २० गरी कुल ३ सय ५३ वटा बेड रहेको जानकारी दिएको छ।

वैशाख ४ गते उदयपुरको भुल्केस्थित नुरी मस्जिदबाट एकैपटक १२ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाउँदै मन्त्रालयले हालसम्म ६ सय १५ जना संक्रमितको उपचार संख्या पुगेको प्रस्टाएको छ। जसमा ४ सय जना डिस्चार्जसमेत भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कोभिड १९ लाई पूर्णरुपमा नियन्त्रणमा लिने योजनासहित अघि बढिरहेको भन्दै प्रदेश सरकारले विराटनगरको कोभिड केन्द्रमा ३ सय, मेची अस्पतालमा २ सय र धाइजन हेल्थपोष्टमा २५ बेड स्तरोन्नती गर्ने जनाएको छ।

पीसीआर परिक्षणको दायरा बढाउँदै लगेको सरकारले धरानको वीपीमा ३ सय, कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा समान १ सय ५० गरी दैनिक ६ सयको क्षमता परिक्षण क्षमता रहेको जनाएको छ।

कोभिड १९ संक्रमण सुरु भएसंगै प्रदेश सरकारले प्रदेश जनसुरक्षा कोषको स्थापना गरेको थियो। सो कोषबाट कोभिड रोकथामका क्रममा १९ करोड ८२ लाख ७१ हजार रुपैया निकासा गरेको छ।

त्यसैगरी यसैका लागि मन्त्रालयको नियमित बजेटबाट ४ करोड ८१ लाख १८ हजार, संघीय सरकारबाट २ करोड ७० लाख हालसम्म कोभिड १९ को रोकथाम तथा नियन्त्रण र उपचारमा कुल २७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्टाएको छ।

प्रदेश सरकारले विदेशबाट आएकाहरुलाई मोरङ, सुनसरी, इलाममा गरी २४ स्थानमा होल्डिङ एरिया राखिने गरिएको जनाएको छ। २ हजार ९ सय ७२ बेडको होल्डिङ एरियामा हालसम्म ५ सय ११ जनालाई राखिएको छ।

प्रदेशको १४ जिल्लाभर ४ सय ५२ स्थानमा १२ हजार २ सय ५५ वेडसहितको क्वारेन्टाइन सञ्चालनमा रहेको छ। जसमा २ हजार ५ सय २१ महिला र ८ हजार ९ सय ७३ पुरुष गरी ११ हजार ४ सय ९४ जनालाई राखिएको छ।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्