भारतबाट फर्किएका नेपालीहरु नाकामा ।

नेपालगञ्ज– नेपालगञ्जमा ‘पहुँचवाला’ व्यक्ति क्वारेन्टिनमा नबस्ने गरेको पाइएको छ।

भारतबाट फर्किएका नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने भनिए पनि नेपालगञ्जमा पावर लगाएर सेल्फ क्वारेन्टिनका नाममा भारतबाट आएका नेपालीलाई घर लैजाने गरेको पाइएको हो।

नाकामा रहेको होल्डिङ सेन्टर वा क्वारेन्टिनमा पावर लगाउन जाने प्रायः जनप्रतिनिधि र नेताहरु रहेका छन्। कतिपय चिनेजानेकालाई क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मीले छोडिदिने गरेका छन्।

भारतबाट फर्किएका नेपालगञ्ज निवासीलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा राख्ने गरिन्छ। प्रायः जनप्रतिनिधिहरु क्वारेन्टिनमा पुगेर होम क्वारेन्टिनमा राख्ने बाचा गर्दै आफ्ना मान्छेलाई लैजाने गरेकाे पाइएको हो।

आफ्नो टोलवासीलाई क्वारेन्टिनबाट घर ल्याउन नजाने वडाध्यक्षलाई दबाब दिने गरिएको छ।

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने, ‘भारतबाट फर्किएकालाई सिधैं घरमा ल्याउनु पर्‍यो। तपाई हिँड्नुस्, भनसुन गर्न भनेर धेरै दबाब आइरहेको छ। भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने सरकारको नीति रहेको छ। म कसरी उनीहरुलाई घरमा ल्याउन जाऊँ?’

भारतबाट फर्किएकालाई १४ दिन क्वारेन्टिनमा राख्ने, आरडीटी जाँच गर्ने र नेगेटिभ आएकालाई तत्काल घर पठाउने गरिन्छ। आरडीटी पोजिटिभ आएकालाई पीसीआर जाँच गरिन्छ। पीसीआर नेगेटिभ आएकालाई तत्काल घर पठाइन्छ। पीसीआर पोजिटिभ आएकालाई पनि १४ दिनपछि पुन परीक्षण नगरी घर पठाउने गरिएको छ।

भारतबाट फर्किएका पावरवाला व्यक्ति भने क्वारेन्टिनमा बस्न मानेको पाइएको छैन। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट फर्किने व्यक्तिलाई केहीले सिधै घर लगेर गल्ती गरिरहेको बताए।

उनले नाकामा रहेको होल्डिङ सेन्टरबाट क्वारेन्टिनमा नपठाई सिधै घर लगेको पाइएकाले त्यस्ताको लेखाजोखा गरेर फेरि क्वारेन्टिनमा ल्याउने प्रयास गरिरहेको बताए।

बाँकेमा हालसम्म ३ सय ६३ जना कोरोना संक्रमित भएका छन्। आइसोलेसन सेन्टरमा २५ जना बसेका छन्। शुक्रबार १४ जनासहित अहिलेसम्म तीन सय ३७ जना डिस्चार्ज भएका छन् बाँकेमा कोरोनाबाट हालसम्म दुई जनाको मृत्यु भएको छ।

पछिल्लो दिनमा भारतबाट फर्किनेको संख्या घट्दै गएको छ। जसले गर्दा क्वारेन्टिन र आइसोलेसन सेन्टरको चाप घटेको छ।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्