नेकपा विवाद

आत्मालोचना गर्दै मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न ओली तयार

काठमाडौँ– पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सकारात्मक छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शुक्रबार भएको छलफलमा मंसिर ४ गते ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमतिलाई कार्यान्वन गरेर अघि बढ्ने प्रारम्भिक समझदारी भएको स्रोतको भनाइ छ।

छलफलमा ओली, दाहालसँगै महासचिव विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए। बैठकको सुरुमा नेताहरुबीच आपसी तिक्तताका विषय छलफल भएपनि पार्टी एकतालाई जोगाउन पूर्ववत् सहमति कार्यान्वयन गरेर अघि बढ्ने पक्षमा उभिएका हुन्।

तर दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि परामर्श गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ। दुई अध्यक्षबीच भएको छलफलबारे जानकारी दिँदै नेकपाका एक नेताले देश सञ्चारसँग भने, ‘अध्यक्ष ओलीले दुई पद छाड्दिन अरु जे भन्नुहुन्छ मान्न तयार छु भन्नुभएछ।’

दुई अध्यक्षबीच शनिबार बिहान ११ बजे स्थायी समिति बैठक सुरु हुनुअघि फेरि छलफल गर्ने सहमति भएको बालुवाटार स्रोतको भनाइ छ।

नेकपाभित्र बढेको कलहका कारण अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षले ओलीलाई दुवै पद छाड्न चर्को दबाब दिए पनि ओली मान्न तयार छैनन्।

असार १० गते सुरु भएको स्थायी समिति बैठक गम्भीर मोडमा पुगेपछि नेताहरु शनिबारसम्म बैठक स्थगित गरेर छलफलमा जुटेका हुन्।

मंसिर ४ गते दुई अध्यक्षबीच एक अर्काको कार्य क्षेत्रमा हस्तक्षेप नगर्ने, पाँच वर्ष ओलीले नै सरकार चलाउने, सरकार र पार्टीका काम दुई अध्यक्षको सल्लाहमै गर्ने, पार्टीको वैधानिक व्यवस्थालाई कार्यान्वयन र प्रभावकारी बनाउने लगायत विषय समेटिएका छन्।

स्थायी समितिले उक्त निर्णय गरे पनि नेताहरुको टकरावका कारण कार्यान्वयन हुन सकेको छैन। मंसिर ४ गते भएको सहमति कार्यान्वयन गरेर विवाद साम्य हुने अवस्था आए ओलीले स्थायी समिति बैठकमा आत्मालोचना गर्नेछन्।

यस्तो छ मंसिर ४ गतेको निर्णय

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्