यी दम्पतीले मिनाहा गरिदिए तीन महिनाको घरभाडा

दाङ– दाङका एक घरधनीले आफ्नो घरमा भाडामा बस्नेलाई तीन महिनाको घरभाडा छुट दिएका छन्।

लमही नगरपालिका वडा नं. ५ निवासी नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको परिवारले चैत, वैशाख र जेठ महिनाको घर भाडा नलिने भएको हो।

पत्रकार शाह र उनका श्रीमान् मोहन कुँवरले घरमा बस्दै आएका व्यक्तिको घरभाडामा छुट दिएका हुन्। नौ वटा कोठाको ३ महिनाको हुन आउने १ लाख २० हजार बराबरको घरभाडामा छुट दिएको शाहले बताइन्।

‘लकडाउनमा व्यवसाय चलेको छैन। त्यही भएर तीन महिनाको घरभाडा लिएका छैनौँ’, पत्रकार शाहले भनिन्, ‘यो अफ्ठेरो समयमा मानवीय सहयोगको खाँचो छ। हाम्रोतर्फबाट गर्न सकिने सहयोग गरेका हौँ।’

शाहको घरमा होटल व्यवसाय गर्दै आइरहेका रामप्रसाद पौडेलले व्यापार नभएको समयमा कोठाभाडा छुट गरिदिएकोमा खुसी लागेको बताए।

पत्रकार शाह दम्पतीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित घरको भाडा पनि पुरै छुट दिएको बताए।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्