मोदीको टिप्पणी खारेज गर्दै चीनले दियो यस्तो जवाफ

चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे ।

चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै मोदीले सैनिकको हौसला बढाउने प्रयास गरे । मोदीले सम्बोधनको क्रममा चीनको नाम लिएनन्, तर उनले बिस्तारवादको युग समाप्त भएको बताए ।

मोदीको टिप्पणीप्रति चीनले आफ्नो प्रतिक्रिया दिएको छ । दिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले ट्वीट गरेर मोदीको टिप्पणी खारेज गरेका छन् ।

उनले लेखेका छन्, ‘चीनका १४ छिमेकी मध्ये १२ देशसँग शान्तिपूर्ण वार्ताको आधारमा सीमा निर्धारण भएको छ, यसले स्थल सीमालाई मित्रवत सहयोगको बन्धनमा बाँधेको छ । छिमेकीसँग चीनको मतभेदलाई बढाई–चढाई गरी, कपोलकल्पित रुपमा प्रस्तुत गर्नु र त्यसलाई बिस्तारवादको रुपमा देखाइनु आधारहीन छ ।’

चीनसँगको सीमा विवादमा कडा रुपमा प्रस्तुत नभएको भन्दै आलोचनाको केन्द्रमा आएका मोदी शुक्रबार अप्रत्याशित रुपमा लेह गएर सेनालाई सम्बोधन गरी राष्ट्रियताको मुद्दामा आफू अडिग रहेको देखाउन खोजेका हुन् । तर त्यहाँ उनले गरेको सम्बोधनले शान्तिपूर्ण रुपमा वर्तमान समस्या समाधानको प्रयासमा भने केही असर गर्ने देखिएको विश्लेषण छ ।

गएको जुन १५ को राति चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सैनिकका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । अरु ७० भन्दा बढी भारतीय सैनिक घाइते भएका थिए ।

चीन तर्फ पनि हताहती भएको दाबी गरिए पनि अहिलेसम्म त्यसको कुनै आधिकारिक जानकारी आएको छैन र चीनले पनि यसबारे केही बताएको छैन ।

सो भिडन्तपछि भारत र चीनबिच समस्या समाधानका लागि सैन्य तथा कूटनीतिक तहमा वार्ताहरु भएका छन् । दुवै पक्ष शान्तिपूर्ण रुपमा समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए पनि आरोप–प्रत्यारोपको क्रम भने रोकिएको छैन ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्