क्यान्सरसँगकाे लडाइँमा संगीतकाे आत्मबल

उनी बाबातिर हेरेर मुस्कुराइन् ।

‘बाबा अब गाउने ?’

‘हुन्छ’ प्रेमले मधुरो स्वरमा भने । उनले मादल समाए ।

छोरी यशस्वीले हार्मोनियम मिलाउँदै भनिन्, ‘बाबा कुन गीत गाउने ?’

हार्मोनियको धुनसँगै स्वर निकाल्छिन् यशस्वी । सुर बिग्रियो भने ‘भएन फेरि गाउँछु’ भन्छिन् ।

प्रेम हाँसेर हुन्छ भन्ने संकेत गर्दै टाउको हल्लाउँछन् । प्रेम–यशस्वी, बाबा–छोरीको दैनिकी हो यो ।

भक्तपुर ठिमीमा रहेको प्रेम खड्काको घरमा शास्त्रीय संगीत हरेक दिन घनकिन्छ । खड्का गायक अनि संगीतकार हुन् । शास्त्रीय संगीतमा उनको दख्खल छ । उनले थुप्रै भजनमा स्वर तथा संगीत भरेका छन् । यशस्वीका बाबासँगै उनी संगीत गुरु पनि हुन् ।

१२ वर्षकी यशस्वीको मन परिवारिक माहोलका कारण संगीतमै बसेको छ । बाबा प्रेम छोरीलाई आफूले जानेका संगीतका गुणहरु पूर्णरुपमा सिकाउन चाहन्छन् ।

सुन्नेलाई लाग्छ, यसरी गाउनेहरुको जीवनको गीत पनि मधुर होला, तर उनीहरुको जीवन गीत भने कर्कश छ ।

यशस्वीलाई राम्रोसँग थाहा छ, बाबाको हाँसो भित्र गम्भीर पीडा लुकेको कुरा । र पनि उनी बाबासँगै स्वरमा स्वर मिलाउँछिन् । मादलको धुनमा स्वर मिसाउँछिन् । बाबाको पीडामा संगीतको मल्हम लगाउने प्रयास गर्छिन् ।

प्रेमलाई क्यान्सर रोगले ग्रस्त बनाएको छ । शायद निको हुँदैन कि भन्ने डरमा बाँचेकी छन् यशस्वी ।

यो सुख–दुःखको यात्रा…

छाेरीका साथमा प्रेम।

दोलखाको गाउँघरका पूजा जात्रामा मादल बजाउँदा उनले कहिल्यै सोचेका थिएनन् यही मादल जीवनको सारथी बन्छ । २०५३ तिर प्रेम काठमाडौँ छिरे । माता कल्याणी आश्रमका कार्यक्रममा मादल र तबला बजाउन थाले । त्यतिबेलासम्म पनि उनलाई सङ्गीत भन्ने के हो भन्ने केही भेउ थिएन । यो त उनको शहरमा टिक्ने बाटो मात्र थियो ।

अबको यात्रामा संगीत नै मेरो साथी हो भन्ने उनलाई बिस्तारै लाग्न थाल्यो । बागबजारको एक संगीत संस्थामा संगीत सिक्न थाले । तर उनको चित्त बुझेन । सिक्ने इच्छा थियो, तर पैसा तिर्न सक्ने अवस्था थिएन ।

२०५५ सालतिरको कुरा हो, दिन त ठ्याक्कै याद भएन उनले भने– ‘मातातिर्थ आश्रममा पाटनका गायक तथा संगीतकार मोहनप्रसाद जोशी भजन गाउन आउनु भयो । मैले उहाँलाई तबलामा साथ दिएँ ।’

जोशीले त्यतिबेला भनेको अझै सम्झना छ खड्कालाई– ‘भाइ तिमी त तबला राम्रो बजाउँदा रहेछौ, हात राम्रो चल्दो रहेछ अब सिक्नु पर्छ ।’ अलि अलि सिकेका खड्कालाई राम्रो सँगसिक्नुपर्छ भन्ने त लागेकै थियो ।

खड्काले आफ्नो समस्या जोशीलाई सुनाए । ‘म निशुल्क सिक्ने व्यवस्था मिलाई दिउँला’ भनेर जोशी निस्किए । जोशी त्यतिबेला कलानिधी इन्दिरा संगीत महाविद्यालय पुल्चोकका प्राधानाध्यापक थिए ।

त्यहिँबाट प्रमेको संगीतको अर्को अध्याय सुरु भयो ।

उनले पुल्चोकस्थित महाविद्यालयलमा वीरगंञ्जका प्रेम चन्द्र ओजैयासँग तबला सिके । तबलासँगै उनले भोकलको पनि अध्ययन गरे । सिक्दै, बजाउँदै, गाउँदै उनले ६ वर्षमा संगीत प्रभाकर पास गरे ।

त्यसपछिका हरेक दिन भजन–किर्तन तथा तबला, मादल र हार्मोनियमसँग बित्न थाल्यो । विभिन्न स्कूलहरुमा संगीत सिकाउन लागे । जागिर सँगसँगै अलङ्कार संङगीत कलाकेन्द्र संस्था खोलेर शास्त्रीय संगीत सिकाउन लागे प्रेम ।

उनी भन्छन्– ‘संगीतले मलाई धेरै सिकायो र धेरै दियो ।’

परिवार पनि खुशी थियो । दुई छोरी जन्मिए । भत्तपुर ठिमीमा घर बन्दै थियो ।

२०७४ साल मंसिरको महिना । जाडोयाम भए पनि देश चुनावको माहोलमा देश तातेको थियो । खड्का घर बनाउने काममा जुटेका थिए । भदौको महिना कामको शिलशिलामा मुक्तिनाथ पुगेका खड्का अस्वस्थ भएपछि अरु साथीहरुलाई छोडेर घर फर्किएका थिए । धेरै ठाउँमा देखाउँदा पायल्स भएको आशंकामा उनले औषधि खाँदै घर बनाउन तिर लागे ।

तर निको भएन । रोग झन बल्झँदै गयो ।

आयुर्वेद अस्पातालको उपचार र आयुर्वेदक औषधिले रोग निको नभएपछि भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । उनी अझै पनि सम्झन्छन् डा. पुण्यराज खर्बुजाले गाली गरेको । पहिलो पटक जाच्ने बित्तिकै डा. खर्बुजाले ‘किन यति ढिला गर्नु भयो’ भनेर रिसाएका थिए ।

आयुर्वेदिक अस्पतालले क्यान्सर अस्पतालमा रिफर गर्दा नै डराएका प्रेम खर्बुजाले त्यसो भन्दा थप त्रसित भए । डा. खर्बुजाले सम्झाउँदै चुनावको बेला अस्पताल बन्द हुने भनिए पनि उनको टेष्ट गराए ।

त्यो दिन…

सबै रिपोर्ट तयार भयो । बोकेर उनी अस्पताल हानिए । सुनसान अस्पताल उनलाई झनै सुनसान लाग्यो ।

डा. खर्बुजाले रिपोर्ट हेरे । उनले जे शंका गरेका थिए रिपोर्टमा त्यही थियो । निधारमा हात राखे ।

लामो सास फेरे । मलिन अनुहार लगाएर खड्का तिर हेरे । अनि सोधे ‘तपाईँसँग को आएको छ ?’

खड्काको मनमा चिसो पसिसकेको थियो । कान्छी छोरी भर्खर जन्मेकी थिइन् । बुढी आमा, अशक्त बुवा । उनी एक्लै अस्पताल पुगेका थिए ।

‘एक्लै आएको, मलाइ नै भन्नुस् न’ खड्काले भने । डाक्टरले सम्हालिन आग्रह गरी प्रेमलाई क्यान्सर भएको र चौथो चरणमा रहेको जानकारी गराए ।

डाक्टरले ढाडस दिँदै भने, ‘तपाईँले ढिला गर्नु भयो तर नआत्तिनुस्… ।’ डाक्टरका सबै कुरा उनलाई यादै भएन । उनले यो बखत सम्झैँदै भने, ‘म त खङ्गरङ्ग भइसरको थिएँ । आकाशै खसेजस्तो भएको थियो ।’

‘मन भारी थियो अस्पतालबाट निस्किँदा । डा. खर्बुजाले म बाहिर निस्कँदासम्मै हेरिरहे ।’ प्रेमले क्यान्सर थाहा पाएको दिन बारे भने, ‘अस्पतालको गेटबाट निस्किएर कसलाई भन्ने, के गर्ने सोच्नै सकिन । दिमागमा डाक्टरले भनेको कुरा आइरहेको थियो–चौथो चरणको लिभर क्यान्सर ।’

‘मलाई लाग्यो म अब बाँच्दिन ।’ प्रेम एकछिन् बोल्नै सकेनन् ।

२० वर्षको संगीत यात्रामा देवी देवताका भक्तिगानहरु गायका छन् । या भनौँ उनको यो जीवन भगवानको महिमा गाउँदै बितेको छ । खाली भयो कि हार्मोनियम वा तबलामा लागिहाल्थे । हरेक धार्मिक कार्यक्रममा उनले भगवानकै स्तुति गाए ।

‘तर त्यही भगवानले मलाई न्याय दिएन’ उनले आफ्नो प्रिय ईश्वरप्रति गुनासो गरे ।

भक्तपुर क्यान्सर अस्पतालबाट उनी ठिमीमा बन्दै गरेको घर आए क्यान्सर थाहा पाएपछि । घर परिवारमा रुवाबासी । उपचारको लागि खर्च जोहो गर्नुपर्ने, ओर्कोतिर घरपरिवार समाल्नुपर्ने जिम्मा थपियो । क्यान्सरको खर्चिलो उपचार कसरी धान्ने पिरलो सुरु भयो ।

भएको जायाजेथा उपचारमा लगाउँ, बाचिन्छ भन्ने कुन्नै ठेगान छैन । छोरीहरुको भविष्य के होला ? परिवारको हाल के होला ? आफूले गर्दा परिवार नै सडकमा पुग्ला भन्ने चिन्ताले प्रेमलाई सतायो ।

नले डाक्टरलाई सोधे पनि ‘उपचार गराएन भने के हुन्छ?’, जवाफ आयो, ‘कष्टप्रद मृत्यु । अहिले क्यान्सर लिभरमा मात्र छ पछि यो शरीरभरि फैलिँदै जान्छ । झन झन बढी दुःख दिँदै जान्छ ।’

उपचार गर्नुबाहेक अरु विकल्प उनीसँग थिएन । जमिन बेचे । ईष्टमित्र र केही साथीभाइले सहयोग गरे । विगत ३ वर्षमा भक्तपुर क्यान्सर अस्पतालमा उनले धेरै पटक किमोथेरापी गरिसके । उनी भन्छन्, ‘हरेकपटकको किमोथेरापी मरेर बाँचेजस्तै हो ।’

यहाँ उपचार संम्भव नभएकाले भारतको राजीब गान्धी अस्पतालमा दुईपटक लिभरको अपरेशन गरे । अपरेशनअघि डाक्टरले सोध्ने गर्थे, ‘बाँच्ने पाँच प्रतिशत सम्भावना छ, तयार हुनुहुन्छ अपरेशनका लागि ?’ हरेकपटक लगभग उनले आफ्नो मृत्यु पत्रमा सही गरे ।

उनले हिम्मत हारेका छैनन् । मनबोल कमजोर हुँदा हरेकपटक उनको अगाडि संङ्गीत आउँथ्यो । हाँस्दै उनले भने, ‘प्रेम एक गीत सुनाओ, अपरेशनपछि होस खुल्दै गरेको अर्धचेत बेलामा मलाई अस्पतालका डाक्टरले भनका थिए ।’

संगीत उनको सारथी बनेको छ जहाँ जाँदा पनि । अस्पतालमा डाक्टर र नर्सहरुलाई गीत सुनाउँथे । उपचार गराउन भारतको राजधानी दिल्ली जाँदा विभिन्न संगीतका इन्स्टिच्युटमा पुगिहाल्थे । ‘नयाँ विद्यार्थीहरु छन् भने सिकाउन दिनुस्, म भन्दा सिनियर कोही हुनुहुन्छ भने म सिक्छु’ उनले हरेक हरेक ठाउँमा भन्ने यही थियो ।

लगभग ६ महिना तबला र हार्मोनियम बजाउन नै नसक्नेगरी थलिए । त्यतिबेलाको पीडा उनी सम्झनै चाँहदैनन् । एक छिनको मौनतापछि उनले भने, ‘कहिलेकाहीँ त सोच्थेँ झ्यालबाटै हामफाल्दिउँ ।’

तर हरेक पटक उनको आत्मबलले बचाउँदै आएको छ ।

क्यान्सरसँगको लडाइँमा उनलाई बेलाबेला थकाइ लाग्छ, तर हिम्मतले उर्जा भर्छन् । छोरीलाई संगीत सिकाउँछन् । छोरीलाई हौसला दिन्छन् । ७ कक्षामा पढिरहेकी छोरीले पनि संगीतको बाटो समातिसकिन् । संगीतसँगै प्रेमले छोरी यशस्वीलाई जीवन कर्म पनि सिकाइरहेका छन् ।
उनी भन्छन्– ‘जतिसुक्कै अप्ठेरो किन नहोस जिन्दगीको मजा लिनुपर्छ ।’

उनलाई एउटै चिन्ता छ, उपचारमा अझै कति खर्च लाग्ने हो टुङ्गो छैन । दुई छोरीको भबिष्य के होला ?

एक मनले भन्छ– ‘अहँ, सबैकुरा बिर्सनु पर्छ ।’

तर त्यत्ति सजिलो त कहाँ छ बिर्सिन । घाउ जो छ, बेला बेलामा चिमोट्ने…।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्