ट्रम्पका जेठो छोराकी प्रेमिकालाई कोरोना भाइरसको संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरकी प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि ट्रम्प परिवारसँगै साउथ डकोटमा रहेकी ट्रम्प जुनियरकी प्रेमिका किम्बर्ली गुइल्फोयलमा संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तर उनका प्रेमी, ट्रम्प जुनियरमा भने अहिले कोरोना भाइरसको संक्रमण नदेखिएको निकट स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको प्रत्यक्ष सम्पर्क राष्ट्रपतिसँग नरहेको र उनी एअर फोर्स वानको विमानबाट यात्रा नगरेको पनि बताइएको छ । किम्बर्लीमा कुनै लक्षण देखिएको छैन ।

ट्रम्प भिक्ट्री फाइनान्स कमिटिका चिफ अफ स्टाफ सर्गिओ गोरले भनेका छन्, ‘संक्रमण देखिए लगत्तै किम्बर्लीलाई अरुमा संक्रमण नफैलियोस् भनेर आइसोलेशनमा राखिएको छ । उहाँको अवस्था राम्रो छ । अब लगातार परीक्षण हुने र सावधानीका लागि आउँदा कार्यक्रमहरु स्थगित गरिएका छन् ।’

उनले अघि भनेका छन्, ‘ट्रम्प जुनियरमा हाल संक्रमण देखिएको छैन, तर सावधानीका लागि उहाँ पनि सेल्फ आइसोलेशनमा हुनुहुन्छ । आउँदा सार्वजनिक कार्यक्रमहरु रद्द गरिएका छन् ।’

फक्स न्यूजकी पूर्व समाचार वाचिका किम्बर्ली ट्रम्पको चुनावी अभियान ट्रम्प भिक्ट्री फाइनान्स कमिटिकी राष्ट्रिय अध्यक्ष हुन् । उनी र ट्रम्प जुनियर चुनावी अभियानका लागि कोष जुटाउनका लागि सँगै देखिने गरेका थिए ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्