लागु पदार्थसहित झापा र सुनसरीमा पाँच जना पक्राउ

झापा – झापा र सुनसरीमा लागु पदार्थसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको देवानगञ्ज ३ बाट लागुऔषध गाँजासहित एकजना पक्राउ परेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय चुनिलाल सरदार रहेका छन्। शुक्रबार दिउँसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा १८ केजी गाँजा बरामद गरी चालक सरदारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

झापाको दमक–५ को एउटा घरमा डेरा बस्दै आएका तीन जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दमक–९ का ३२ वर्षीय रविन कुँवर, इलाम घर भइ दमक–५ मा बस्ने १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भइ दमक–८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेका छन्।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १७ ग्राम ब्राउन सुगरसहित कोठाबाट पक्राउ गरेको हो।

सुनसरीको धरान–७ स्थितमा डेरा गरी बस्दै आएका ४४ वर्षीय किसन श्रेष्ठ लागु औषधसहित पक्राउ परेका छन्।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स जिसि, ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपाम, १ थान हतियार र नगद १ लाख ९२ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्