हिन्दुराष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम– नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ। नेपाल राष्ट्रवादी समूहले शनिबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो।

जनकपुरधामको जनकचोकमा नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिएको हो।

जनकचोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गई कोणसभामा परिणत भएको थियो। राष्ट्रियसभाका पूर्व सदस्य कारी यादवको अगुवाईमा निकालिएको र्‍यालीमा युवा, महिला र साधु सन्तहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

देश नेताहरुको कारण नै बर्बाद भइरहेकोले लाखौं हिन्दुहरुको आस्थाको केन्द्र नेपालमा हिन्दू राष्ट्र कायम गर्नुको अब विकल्प नरहेको राष्ट्रियसभाका पूर्व सदस्य यादवले भने। देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य रहेकोले आफूहरुले यो अभियान सञ्चालन गरेको उनले बताए।

नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा समाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने उनको तर्क छ।

र्‍यालीमा सहभागीहरुले हिन्दुराष्ट्र कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्