कोरोना अपडेटः संक्रमित १५ हजार ४९१, निधन ३४, संक्रमणमुक्त ६४१५

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ७ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा ७, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा भएको परीक्षणमा ४ र गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा भएको परीक्षणमा ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा भएको परीक्षणमा १५ जना, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा भएको परीक्षणमा १३ जना, प्रादेशीक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा ८ जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा भएको परीक्षणमा ५ जना, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा ७ जना र दैलेख प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका एक र रुपन्देहीका एक जनाको कारोनाका कारण मृत्यु भएको हो।

डा. गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए। १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो।

उनी मधुमेहका दिर्घरोगी रहेको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो। यस्तै रुपन्देही दवदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए।

क्षयरोगका विरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो। असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

यसैगरि पीसीआर विधिबाट शनिबार ४ हजार ५० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरीका विभिन्न क्वारेन्टिनमा ३३ हजार १ सय २५ जना रहेका छन् भने विभिन्न अस्पतालका आइसोलेसनहरुमा ९ हजार ४२ जनाको उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएको जनाएको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू