कोभिड–१९ ले व्यक्तिका रुपमा, समाजका रुपमा र राष्ट्रका रुपमा हामी आफैलाई नियालेर हेर्ने र चिन्ने मौका दिएको छ ।

पत्रकार दिलभुषण पाठकले सञ्चालन गर्नुभएको टफटक तपाईसँग कोभिड–१९ कार्यक्रममा आनी छोइङ डोल्माले भन्नुभयो, ‘धेरै बाहिर हेर्‍यौँ, अब भित्र हेरुँ।’

हो, ध्यान गरौं, आफूलाई चिनौँ, आफ्नो संस्कृति बुझौँ।

हो नि हाम्रा पूर्वीय दर्शनहरु धेरै राम्रा थिए र राम्रा छन्, तर तिनको ज्ञान सामान्य नेपाली नागरिकलाई छैन ।

नमस्कार गर्ने संस्कृति राम्रो रहेछ – रोग पनि नसार्ने ।

नमस्कार भन्ने शब्द संस्कृतको ‘नमन’ भनेको झुक्नु र ‘कर’ भनेको हातबाट आएको रहेछ । हात जोडेर एक आपसमा अभिवादन साट्दा नमस्कार गर्ने व्यक्तिको आयु, बुद्धि र तेज बढ्छ भनी पुराणहरुले भनेका रहेछन् । भगवानको मन्दिरमा हामी दुबै हात जोडेर नमस्कार गर्छौं । यसो गर्दा जीवात्माले परमात्माको आशिर्वाद र शक्ति प्राप्त गर्छ र परमात्मासँग एकाकार हुन्छ भनिएको रहेछ ।

संस्कृतमा ‘ते’ शब्दले तिनीहरु भन्ने जनाउँछ । धेरै जनालाई हात जोड्दा नमस्ते भनिन्छ भन्ने बुझियो ।

हामी अचेल हेलो, हाइ, “हग”, “किस” र “ह्याण्डसेक”को संस्कृतिलाई बढावा दिइरहेका छौं । ठूला भनाउँदा मान्छेहरु दुई हात जोडेर नमस्कार फर्काउँदैनन् – हात मात्र उठाउँदै आफू “ठूलो मान्छे” भएको “महत्व” दर्शाउँछन् ।

आनीले बुद्ध धर्ममा आधारित गीतहरुद्वारा बिश्वभरि नेपालीको शिर ठाडो राख्नु भएको छ । स्यानफोर्ड युनिभर्सिटीमा उहाँले गाएको पनि सुनें । धेरै खुशी लाग्यो । धार्मिक सहिष्णुताको परिचय दिंदै आनीले भारतका बिश्वबिख्यात संगीतकार ए.आर.रहमान र जोर्दनिया गायिका फराह सिराजसँग मिलेर गाउनुभएको गानाले पनि नेपालको प्रतिष्ठा बढाएको छ । धेरै प्रगति गरेपनि नम्र रहने आनीको व्यवहार र सौम्य व्यक्तित्वको म प्रशंसक छु ।

स्नायु एवम् मनोचिकित्सक सिग्मण्ड फ्रायडले मान्छेको इड, इगो र सुपर इगोको व्याख्या गरे ।

जीवन जिउने सन्दर्भमा बालकले आत्म रक्षाका लागि सिक्ने बिभिन्न कुराहरुले उसको इड जनाउँछ भने इगो उसको आफ्नोपन, व्यक्तित्व हो ।

व्यक्तित्व बिकासका क्रममा नैतिक व्यवहार, सदाचार आदि कुराहरु सिक्दै बुझ्दै मान्छेले आफैलाई अवाञ्छित गतिविधिबाट नियन्त्रण गर्छ, त्यहाँ उसको सुपर इगोले काम गरिरहेको हुन्छ ।

इगो र सुपर इगो बिकासको क्रममा मानिएको इगोले उसलाई उच्चताभाष (सुपेरियोरिटी कम्लेक्स) या लघुताभाष (इन्फेरियोरिटी कम्लेक्स) ले ग्रसित तुल्याउँछ ।

लघुताभाषले ग्रसित व्यक्ति आफूलाई ठूलो देखाउन नित्य प्रयासरत रहन्छ ।

के हामी आफ्नो संस्कृतिप्रति लघुताभाष बोध गर्छौं ?

भाषा ज्ञान धेरै राम्रो कुरा हो । जति धेरै भाषा शुद्धसँग बोल्न, पढ्न र बुझ्न सकियो त्यति नै व्यक्तित्व एवम् आर्थिक बिकासको अवसर प्राप्त हुनसक्छ ।

यो समृद्ध समाज र समृद्ध राष्ट्रको भरपर्दो आधार हुनसक्छ । आर्थिक बिकासलाई मात्र समृद्धि बुझ्ने अहिलेको समाजले व्यक्ति र राष्ट्रको सर्वाङ्गीण विकासको अवधारणा बुझ्न जरुरी छ ।

नीति श्लोकमा भनिएको छ –

विद्या ददाति विनयं, विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद्धर्म ततः सुखम् ।।

बिद्या=विद्या, ददाति=दिन्छ, विनयं=नम्रता, विनयात्=नम्रताबाट, याति=पाइन्छ, पात्रताम्=सद्गुण, पात्रत्वात्=सत्पात्रबाट, धनम्=धन, आप्नोति=पाइन्छ, धनात्=धनबाट, धर्म=धर्म, ततः=त्यसबाट, सुखम्=सुख

यसको भावार्थ:
विद्याले मानिसलाई विनयशील बनाउँछ, नम्र मानिस असल पात्र बन्छ । असल व्यक्तिले धन कमाउँछ, धनले धर्म हुन्छ अनि सुख हुन्छ ।

अहिलेको यो हाम्रो समाज हेर्दा असल मानिस, विनयी मानिसलाई धन कमाउन गाह्रो छ । किन हाम्रो समाज यस्तो छ ?

किन छलछाम, भ्रष्टाचारले प्रश्रय पाइरहेको छ ?

किन हाम्रो समाजमा विनयशीलता घट्दै छ ?

किन हामी नमीठो बोल्छौं, गाली, कुटपिटमा उत्रिन्छौं ?

किन हिंसालाई सामान्यीकरण गर्न खोज्छौं ?

अर्को नीति श्लोक भन्छ –

मनस्यन्यद् वचस्यन्यत् कर्मण्यन्यद् दुरात्मनाम् ।
मनस्येकं बचस्येकं कमण्येकं महात्मना ।।

मनस्=मन, अन्यत्=अर्कैै, बचस्=बोली, कर्मण=काम, दुरात्मनाम्=दुष्ट आत्माहरुका लागि, एकम्=एक, महात्मना=महात्माहरु

यसको भावार्थ –
दुष्टहरुको मनमा अर्कै कुरा, बोलीमा अर्कै कुरा, र काममा अर्कै कुरा हुन्छ । तर महात्मा सज्जनहरुले मन, वचन र कर्ममा एकरुपता राखेर कुरा गर्छन्, अर्थात् जे सोच्छन् त्यही भन्छन् र त्यसै गर्छन् ।

हाम्रो समाजका अगुवाहरुले एउटा कुरा भन्छन्, अर्कै कुरा गर्छन् । त्यो देखेर हुर्किएको बालक, किशोर किशोरी पछि गएर त्यस्तै व्यवहारको अनुकरण गर्छन् ।

हाम्रो बिद्यालयको पाठ्यक्रममा पनि नैतिक शिक्षा हटिसकेको छ ।

आफ्नो देशको संस्कृति, भूगोल, इतिहास, पुरातात्विक महत्वका वस्तुहरुको ज्ञान दिएर बालबालिकालाई आफ्नो देश र समाज प्रति गर्व गर्ने वातावरण बनाउन धेरै ढिलो भैसकेको छ ।

प्रविधिको पहुँचले विश्व नै एक जस्तो भैसकेको अहिलेको समयमा युवा बर्गलाई सही मार्ग दर्शन दिनु अत्यन्त जरुरी छ । नत्र उनीहरु अलमलमा पर्छन् ।

युवा बर्गलाई रुपान्तरण गरी नैतिक एवम् चरित्रवान नागरिक बनाउनु आवश्यक छ ।

नैतिकता के हो ? अनि सदाचार नि ?

नैतिकता सामाजिक मूल्य मान्यतामा आधारित हुन्छ । मानिसको धर्म, संस्कृति, सोच, व्यवहार आदिले यसलाई निर्देशित गरेको हुन्छ । यी मूल्य मान्यताहरुको संरक्षण, सम्बर्धन र उपयोगलाई नैतिक व्यवहारका रुपमा बुझिन्छ ।

जस्तै मन्दिरमा पस्दा जुत्ता फुकाल्ने प्रचलन सर्वमान्य छ भने जुत्ता लगाएर पस्नु अनैतिक कार्य हुन्छ ।

हाम्रा जनप्रशासनका पाठ्यक्रमहरुमा सदाचार बिषयलाई पढाउन त पढाइन्छ, तर समाजका राम्रा नराम्रा उदाहरणहरुको व्यापक छलफल गरिंदैन । सार्वजनिक जीवनमा रहेका प्रशासनिक, राजनीतिक व्यक्तिहरुका पुराना भाषणहरु, उनीहरुले भनेका र गरेका कुरा दाँजेर हेर्ने परिपाटी हामीले विकसित गर्न सकेका छैनौं । के यी खालि सैद्धान्तिक कुराहरु हुन् ? पढ्ने, सुन्ने तर व्यवहारमा प्रयोग नगर्ने ?

कसैको परिवार शाकाहारी छ भने उसलाई जबरजस्ती मासु खुवाउनु अनैतिक व्यवहार हो । रक्सी खान मन नगरेको साथीलाई कर गरेर रक्सी ख्वाउनु अनैतिक कार्य हो । अहिले ‘MeToo’ भन्ने अभियान नै चलेको छ । अवान्छित तरिकाले महिलाहरुलाई छोएका या यौन दुर्व्यहार गरिएका घटनाहरुलाई उजागर गरेर त्यस्तो नगर्न मानिसहरुलाई सचेत गराउनु यो अभियानको उद्देश्य हो ।

कुनै समाजमा बहुविवाह अमान्य होला, कुनै समाजमा यो ग्राह्य हुन सक्छ ।

समाजले मेहनतको कमाइ मात्र खानुपर्छ भनेर सिकाएको ठाउँमा घुस खानु अनैतिक कार्य हो । यो कानूनी रुपमा दण्डनीय पनि हुन्छ ।

नैतिकता सामाजिक, पारिवारिक र व्यक्तिगत रुपमा आफूलाई मर्यादामा राख्ने केही व्यवहारहरु हुन् । समयक्रममा यसको परिधि र परिभाषा फरक हुन सक्छ ।

सदाचार (एथिक्स) अलि बढी व्यापक र बस्तुगत रुपमा मापन गर्न सकिने व्यवहारहरु हुन् । जस्तै देशको संबिधान, ऐन, कानूनको पालन गर्नु, नागरिक दायित्व निर्वाह गर्नु जस अन्तरगत वातावरण, धर्म, स्वास्थ्य, शिक्षा आदि समेत पर्छन् । आ–आफ्नो पेशा ईमान्दारिताका साथ गर्नु, राष्ट्रलाई सम्मान गर्नु । अरुको हक अधिकारको रक्षा गर्नु आदि व्यक्ति विशेषले गर्नै पर्ने कामहरु सदाचार भित्र पर्छन् । यी मध्ये देश, समाज र परिवारका सर्वमान्य सिद्धान्तको आदर नगर्ने र सो अनुरुप कार्य नगर्ने व्यक्ति दुराचारी (भ्रष्ट) ठहरिन्छ ।

हाम्रा जनप्रशासनका पाठ्यक्रमहरुमा सदाचार बिषयलाई पढाउन त पढाइन्छ, तर समाजका राम्रा नराम्रा उदाहरणहरुको व्यापक छलफल गरिंदैन । सार्वजनिक जीवनमा रहेका प्रशासनिक, राजनीतिक व्यक्तिहरुका पुराना भाषणहरु, उनीहरुले भनेका र गरेका कुरा दाँजेर हेर्ने परिपाटी हामीले विकसित गर्न सकेका छैनौं ।

के यी खालि सैद्धान्तिक कुराहरु हुन् ? पढ्ने, सुन्ने तर व्यवहारमा प्रयोग नगर्ने ?

कोभिड–१९ ले हामीलाई सिकाएको छ । सामाजिक मूल्य, मान्यता, नैतिकता र सदाचारको परिपालन राम्रो भएमा मात्र रोगसँग भिड्न आवश्यक पूर्व तयारी, सक्षम व्यवस्थापन र उच्च मनोवल कायम गर्न सकिने रहेछ । सिंगापुर र कोरियाले यसको झलक हामीलाई देखाए । तर नेपालमा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको आरोप लाग्यो । कोभिडसंग जुध्ने तयारी धेरै सुस्तसँग भए, नागरिकले देशको सीमासम्म आएर भित्र पस्न पाएनन् । भोकभोकै लकडाउनको समयमा मिलौ पैदल हिड्दै घर जान बाध्य मजदुर र तिनका लाला–बाला देख्दा नागरिकको टाउको निहुरियो, तर सरकारको response निराशजनक रहयो । नैतिकता र सदाचार अभाबका दृष्तान्तहरु देख्दा कुन नेपालीले गर्व गर्न सक्यो होला र ?

नैतिकता र सदाचारका सिद्धान्तहरु “युनिभर्सल” अर्थात् सबैका लागि उपयोगी हुन सक्छन् । बिख्यात प्राध्यापक ड्वाइट वाल्डो भन्छन् – नागरिकले सोध्नु पर्छ, धेरै प्रश्नहरु, जस्तै –

– के हाम्रो शहरका मेयर आफ्नो काम पूरा इमान्दारीका साथ गर्छन् ?

– के हाम्रा चिकित्सकहरु आफ्नो ज्ञान र सीपको प्रयोग पूर्ण निष्ठाका साथ बिरामीको भलाइका लागि प्रयोग गर्छन् ?

– के शिक्षकहरु सच्चरित्र, नैतिकवान, क्षमतावान नागरिक तयार पार्न कटिबद्ध छन् ?

यी र यस्ता अनेकन प्रश्नहरुको जवाफले हाम्रो समाजको सदाचार र नैतिकताको धरातल तय गर्छ ।

हामी नागरिकले प्रश्न गर्नै पर्छ – के हामी यी प्रश्नका जवाफहरुबाट सन्तुष्ट छौं ? के हामीले हाम्रो नागरिक दायित्व राम्ररी निर्वाह गरेका छौं ?

वाल्डो हामीलाई सचेत पार्छन् कहिले काँही व्यक्तिले ठूलो बिरोधाभास को सामना गर्नु पर्छ ।

जस्तै :
– नागरिकका रुपमा लोकतन्त्रका लागि समर्पण हुने कि आफ्नो दलका सिद्धान्तका लागि ?

– व्यावसायिकताको पुकार या परिवारको आवश्यकता ?

– संबिधानको परिपालना या व्यक्तिगत मनोकाङ्क्षाको पूर्ति ?

यस्ता खालका विरोधाभासपूर्ण अवस्थाहरुमा आध्यात्मिकताले हामीलाई सघाउँछ ।

हामी आफैसँग प्रश्न गरौँ –

– म के चाहन्छु – खुशी कि सम्पत्ति ?

– के सम्पत्ति नै खुशीको मुख्य आधार हो ?

– म आफ्ना सन्तानलाई के सिकाउन चाहन्छु ?

हाम्रा केही नीति श्लोकहरु अहिले पनि सान्दर्भिक छन् –

दुर्जनः परिहर्तभ्यो विद्ययालंकृतोऽपि सन् ।
मणिना भूषितः सर्पः किमसौ न भयङ्करः ।।

भावार्थ : जति नै पढेलेखेको भएपनि दुष्कर्म गर्ने व्यक्ति त्याग्न योग्य हुन्छ । मणिले सिङ्गारिएको सर्प जस्तै त्यो व्यक्ति पनि डरलाग्दो नै हुन्छ ।

अंग्रेजी साहित्यका कवि एवम् चित्रकार विलियम ब्लेकले भनेका थिए –

“एउटा सोचले असीमित परिपूर्णता दिन्छ।”

विश्वेश्वरप्रसाद कोइरालाले अन्तिम अन्तरवार्तामा भन्नु भएको थियो “असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मीय आनन्द हुन्छ । मलाई यही नै भयो भन्ने लाग्छ।”

असल सोचौं, राम्रो गरौं ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् ।।

ॐ शान्ति : शान्ति :  शान्ति :

(डा. सुधा शर्माले लकडाउनका बीच लेख्नुभएका आलेख नियमित रुपमा देशसञ्चारमा प्रकाशित हुनेछन्।) 

यो पनि हेर्नुहोस्:

जीवन र मृत्यु

एकान्तवास

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्