नेकपामा चुलिएको विवादको असर जिल्ला तहमा पनि देखिन थाल्यो

माेरङ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको विवादको असर जिल्ला तहमा पनि देखिन थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार विराटनगरमा नाराजुलुस गरिएसंगै असन्तुष्ट पक्षले प्रदर्शनमा सहभागी हुनेलाई कारबाहीको माग गरेको छ।

शनिबार विराटनगरस्थित मोरङको जिल्ला पार्टी कार्यालयमा अनेरास्ववियुदेखि युवा नेताहरुले जिल्ला अध्यक्ष, नगर अध्यक्षसमक्ष पार्टी अध्यक्ष ओली पक्षधरलाई कारबाहीको माग गरेका छन्।

‘नेकपा आरिंगालको झुण्ड हैन, कर्मी मौरी चाहिएको छ’, लगायतका प्लेकार्डसहित पार्टी कार्यालयमा असन्तुष्ट पक्षधरले शीर्ष नेताहरुलाई स्वतन्त्रको नाममा गरिएको गालीगलौज मान्य नहुने बताएका थिए।

अनेरास्ववियुका नेता वासिम आलमले पार्टी शीर्ष नेताहरुविरुद्ध गालीगलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा उत्रने क्रमलाई रोक्न जिल्ला नेतृत्वलाई आग्रह गरे। पार्टीभित्रबाट सडकमा उत्रने कार्य जारी रहे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामा माग्दै सडकमा उत्रने चेतावनी उनले दिए।

आलमले स्थायी समितिको बैठकमा छलफल भइरहेको बेला सडकमा शीर्ष नेताहरुको बदनाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

आलमले भने, ‘पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतिलाई मिच्ने गरी कुनै गतिविधि हुनु हुँदैन भन्ने हाम्रो माग हो।’

युवा संघका केन्द्रीय सदस्य इश्वरी आचार्यले पार्टी अध्यक्ष प्रचण्ड या नेता माधवकुमार नेपाल लगायतलाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने बताए।

पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्नेमा जोड दिए। कसैले भनेको आधारमा सडकमा उत्रन नहुनेमा जोड दिएका पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने र समस्याको हल गरी अघि बढ्नुपर्ने उल्लेख गरेका थिए।

त्यसैगरि, जिल्ला सचिव गणेश उप्रेतीले स्वतन्त्रताको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिवद्धता जनाए। नेताहरुको प्रतिवद्धतापछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्