होम क्वारेन्टिनमा बसेका ५ जनासहित प्रदेश–१ मा १२ जना संक्रमित थपिए

मोरङ– शनिबार विराटनगर महागनरपालिकामा ५ जनासहित प्रदेश १ मा १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार महानगरपालिकाको स्वागतम् होटल क्वारेन्टिनमा बस्दै आएकी १ महिला र होम क्वारेन्टिनमा बस्दै आएका २ महिला र २ पुरुषमा कोभिड १९ को पीसीआर रिपोर्ट पोजेटिभ पुष्टि भएको हो।

महानगरपालिकाका अनुसार विराटनगरमा देखिएका संक्रमितहरु भारतबाट असार १३ गते विराटनगर आएका हुन्। यसक्रममा २ महिला र २ पुरुष होम क्वारेन्टिनमा बस्दै आएका थिए। वडा नम्बर ९ को सिफारिसमा उनीहरुलाई महानगरपालिकाले होम क्वारेन्टिनमा बस्ने अनुमति दिएको थियो।

अर्की एक महिला भने होटल स्वागतम क्वारेन्टिनमा बस्दै आएकी थिइन्। वडा नम्बर १० की संक्रमित महिला आफै होटल क्वारेन्टिनमा बसेकी हुन्। उनीहरुको १७ गते पीसीआर परिक्षण गरिएको बताइएको छ।

त्यसैगरि मोरङको सुन्दरहरैंचा नगरपालिकामा १ पुरुषमा समेत कोभिड १९ पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङमा ६ संगै झापामा ५, र ईलाममा १ जनाको पीसीआर परिक्षण पोजेटिभ आएको हो। मन्त्रालयले झापाको कचनकवल गाँउपालिकामा ४ पुरुष, कनकाई नगरपालिकामा १ पुरुष र ईलामको देउमाई नगरपालिकामा १ पुरुषमा कोभिड १९ संक्रमण पुष्टि गरेको हो।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ६५ पुगेको छ।

अर्कोतर्फ शनिबारनै प्रदेश १ बाट ३६ जना संक्रमितहरु कोभिड–१९ लाई जितेर घर फर्किएकाछन्। घर फर्किएका सबै ३६ जना पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

गोठगाउँस्थित आइसोलेसन अस्पतालबाट हालसम्म १ सय ४६ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या भने हालसम्म ४ सय ५७ पुगेको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्