हाम्रो आवाज पनि सुन्नुहोस्- १५

हामीलाई दया होइन, अवसर दिनुहोस्

मैले दाहिनेभन्दा देब्रे कानले निकै कम सुन्छु। त्यसैले कुनै पनि आवाज सुन्नको लागि म दाहिने कानतिर नै फर्किने पर्ने हुन्छ। कामको कुराकानीको सिलसिलामा कतिपय अवस्थामा कुनै कुनै कुरा म बुझ्दिन र म भन्छु- म कान कम सुन्छु फेरि भन्नु न के भनेको। तर सहकर्मीहरूबाट जवाफ आउँछ- तिमीले सुनिराखेको छौ त? मलाई लाग्छ उनीहरुलाई मैले केवल आवाज मात्र सुने पुग्छ शव्द बुझ्ने जरुरी छैन भन्ने लाग्छ।

हाम्रो समाजलाई सुस्त श्रवणहरू विभिन्न प्रकारका हुन्छन् भन्ने नै थाहा छैन। त्यसमाथि एउटा कानले मात्र सुन्ने वा एउटा मात्र कान कमजोर हुने व्यक्तिहरू पनि हुन्छन् है भन्ने कुरा त उहाँहरुले कसरी थाहा पाउनु? मलाई लाग्छ- हाम्रो राज्यलाई पनि यस बारेमा थाहा छैन किनभने अपांगता अन्तर्गतको कान कम सुन्ने व्यक्तिहरुको लागि दिइने अपांगता परिचय पत्रमाम जस्तो एउटा मात्र कान सुने व्यक्तिको बारेमा कुनै कुरा उल्लेख गरिएको छैन। यदि मैले परिचय पत्रको लागि आवेदन दिए भने पनि मैले परिचय पत्रमा पाउँछु र? शंकै लाग्छ। जब कि कतिपय दुवै कान कम सुन्ने सुस्त श्रवणहरूले त अपांगता परिचय पत्र पाएको छैनन् वा पाउन संघर्ष गरिरहेका छन् भन्ने थाहा पाएको छु। साथै एउटा आँखा नदेख्नेहरूले पनि अपांगता परिचय पत्र पाएको छैनन् भन्ने कुरा मैले साथीहरु मार्फत सुनेको छु।

समस्या निकै नै भोगेको छु तर मैले भोगेको समस्या भने देखाउन भने सकेकी छैन। आज मैले यो सानो लेख मार्फत भए पनि मैले भोगेको समस्याहरु राज्य र समाजमा पुर्‍याउने अठोट लिएकी छु।

मेरो नाम अञ्जु तामाङ हो। मेरो जन्म काठमाडौंको थापाथालीको अस्पतालमा भएको हो। म जन्मँदादेखि नै कान नसुन्ने त होइन तर सानै उमेरमा मलाई जन्डिस र निमोनिया भएको थियो। त्यसपछि फेरि मलाई दम रोग लाग्यो। यी रोगका कारणले कमजोरीपना बढ्दै गए पछि मलाई बारम्बार रुघा खोकी लाग्ने र नाकबाट पानी बग्ने हुन थाल्यो। जसको असरले होला मेरो एउटा कानको सुन्ने शक्ति कम हुँदै गयो।

सानो बेलामा बिद्यालय पढ्ने समयतिर मलाई दम रोगले बढी नै ग्रसित बनाउँथ्यो। दम रोग बढी नै भएको कारणले गर्दा होला म आफैले र मेरो परिवारले मेरो कानमा बिस्तारै कम सुन्ने समस्या बढ्दै गएको कुरामा त्यति ध्यान दिन सकेनौँ।

म सानो बेलादेखि नै धेरै बिरामी हुने र कान राम्रोसँग नसुन्ने भएको कारणले गर्दा मेरो अरुसँग बोल्ने वा कुरा गर्नेमा आत्मबिश्वासको कमी नै थियो। मलाई बिद्यालयको साथीहरू र नयाँ मानिसहरूसँग बोल्न डर लाग्ने गर्थ्यो। सर मिसहरुसँग बोल्न झनै डर लाग्थ्यो। सरहरुले कुनै कुरा सोध्नु हुँदा कान कम सुनेको कारण मलाई सोधेको कुरा बुझ्न गाह्रो हुन्थ्यो। बेला बेलामा जवाफ दिन सक्दिन थिए। अनि सरहरुले बुझेको हो भनेर सोध्नु हुँदा मैले डरको कारणले नबुझेता पनि बुझेको छु भनेर टाउको हल्लाउँथे।

सानो बेलामा बिद्यालय पढ्ने समयतिर मलाई दम रोगले बढी नै ग्रसित बनाउँथ्यो। दम रोग बढी नै भएको कारणले गर्दा होला म आफैले र मेरो परिवारले मेरो कानमा बिस्तारै कम सुन्ने समस्या बढ्दै गएको कुरामा त्यति ध्यान दिन सकेनौँ।

मैले सोरुममा पनि काम गरेको थिएँ तर कान कम सुनेकै कारण ग्राहक र सँगै काम गर्ने साथीहरुसँग कुराकानी गर्न गाह्रो हुने गर्दथ्यो। कान कम सुनेकै कारण आफुले आफैलाई धेरै पटक अपमान र लज्जित भएको महशुस गर्दथे। म अहिले हस्तलेखन शिक्षिकाको रुपमा काम गर्दै आइरहेको छु। एउटा शिक्षिकाको रुपमा विद्यार्थीहरुलाई सिकाउने क्रममा कुनै शब्दहरुको उच्चारण अप्रष्ट हुँदा र सोधेको कुरामा कुरा नमिल्दा बिद्यार्थीहरु ममाथि हाँस्छ्न् र कहिलेकाहिँ मेरो पछाडि कुरा पनि काट्ने गर्छन्। यस्तो हुँदा मलाई आत्मग्लानि महशुस हुने गर्दछ।

म आफै शिक्षिका भएको कारणले बिधार्थीहरुलाई पढाउदै जाँदा कान कम सुनेकै कारण पढाउनको लागि आत्मविश्वास कम हुँदै गएको महशुस गरेको छु। मैले पढाउने मेरो लक्ष्य अनुरुप नै मैले आफूलाई शिक्षिकाको रुपमा स्थापित गरिसकेको भएता पनि मेरो कान कम सुन्ने गरेको कारणले कतै कहि मेरो पढाउने पेशामा नै वाधा आउने त हैन भन्ने कुरामा सधैं नै चिन्ता लागिरहन्छ।

अहिले सम्म त मैले जसरी तसरी भए पनि हेरिङ एड नलगाए पनि मेरो शिक्षक पेशाको काम चलाइरहेको छु। तर अहिले २-३ बर्ष देखि कान सुन्ने क्षमता भने झन् झन् कमजोर हुँदै गएको अवस्था छ। कुरा राम्रोसँग पहिलाको जस्तो गरी बुझ्न र सुन्न भने सकेको छैन। मैले २०१८ मा कान जँचाएको थिए र पुनः २०२० मा पनि जँचाए। यो दुइ बर्षको अवधिमा मेरो देब्रे तिरको कानको सुने क्षमता २० प्रतिशतले कम भएको रहेछ। मलाई डाक्टरले ‘हेरिङ एड’ लगाउने सल्लाह दिनु भएको छ र मलाई चाहिने हेरिङ एडको मूल्य ३५,००० वा त्याेभन्दा माथि पर्छ। जुन हेरिङ एड पनि साधारण खालको हो। एउटा गरिब मानिस जसलाई खानाको लागि नै अभाव छ भने उसको लागि उच्च शिक्षा हासिल गर्नु असम्भव हुन्छ। त्यस्तै म जस्तो साधारण मध्यम वर्गको मानिसलाई यो साधारण मूल्यको हेरिङ एड किन्न पनि असम्भव छ।

मैले अहिले काम गरेको ठाउँबाट बेला बेलामा बिभिन्न स्कूलहरुमा शिक्षिकाको रुपमा पठाउनु हुन्छ। मैले काम गरेको ठाउँमा म कान कम सुन्छु भन्ने कुरा पनि थाहा छ। मलाई डक्टरहरुले अब हेरिङ एड नलगाई हुँदैन र समयमा नै हेरिङ एड लगाएमा भने मेरो बोलीमा पनि असर गर्छ भन्नु भएको छ। मलाई हेरिङ एड किन्न आर्थिक समस्या त छ नै, तै पनि केही गरी मैले हेरिङ एड लगाउन शुरु गरेमा मेरो पेशामा नै असर गर्ला कि भन्ने डर पनि लागेको छ। हेरिङ एड लगाए पछि पढाउन नपठाउने होकि? स्कूलका सर म्यामहरुको म प्रतिको व्यवहारमा परिवर्तन हुने हो कि? मैले पढाउने बच्चाहरुले पनि मलाई झन् झन् जिस्काउने हो कि? जस्ता कुराहरुले मलाई तीन वर्षदेखि पिरोलिरहेको छ। मेरो अरु सुस्त श्रवण साथीहरुलाई उनीहरुले पढ्न जाँदा भेदभाव गरेको मैले सुनेको छु। भेदभाव भएमा मैले कसरी सामना गर्न सकूँला जस्तो लाग्छ।

अहिले म स्नातक तहको पहिलो सेमेस्टरमा पढ्दै छु। कहिले काहीँ कलेज पुग्न ढिलो भयो भने अगाडीको सिटमा बस्न पाउँदैन र पछाडिको सिटमा बस्नु पर्छ। पछाडिको सिटमा बसेर पढ्दा सरले पढाउनु भएको कुरा बुझ्न मलाई निकै गाह्रो हुन्छ। अहिलेको बन्दाबन्दीको अवस्थामा कलेजले अनलाईन क्लास सुरु गरेको छ। मलाई ती क्लासहरुमा पढाएको कुरा पूर्णरुपमा बुझ्नगाह्रो हुन्छ, विशेष गरेर नयाँ नयाँ शब्दहरु सुनेर बुझ्न चाहिँ गाह्रो हुन्छ।

मेरो सुन्ने क्षमता कम हुँदै गर्दा म आफैलाई आफ्नो जीवनप्रति र अरुप्रति कुनै गुनासो छैन तर हाम्रो देश र समाजमा अपांगतालाई दयाको रुपमा हेर्ने गरिन्छ र भन्ने गरिन्छ –‘बिचरा केही गर्न सक्दैन।’ म भन्छु, हामीलाई दयाको रुपमा हैन अवसरको रुपमा हेर्नु होस्, अवसर दिएर हेर्नु होस्। साथै म जस्तो एक कान कम सुन्ने व्यक्तिलाई पनि अपागंताका रुपमा स्वीकार गरी परिचय पत्र पनि दिनुहोस्। एक कान वा दुबै कान कम सुने व्यक्तिको लागि हेरिङ एड सुलभ मुल्यमा उपलब्ध गराउने हो भने र शिक्षा प्राप्त गर्न, काम सिक्ने,काम गर्ने ठाउँहरूअपांग मैत्री बाताबरण हुने हो भने हामी पनि यो समाजमा केही गर्न तथा देशलाई केही दिन सक्छौँ। साथै देश बिकासमा हामी पनि मद्दत गर्न सक्छौँ।

(लेखिका शैक्षिक पेशामा आवध्द सुस्त श्रवण हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्