मन्त्रीहरुलाई कित्ता ‘क्लियर’ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ– केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने खेल भइरहेको अवस्थामा कता लाग्ने हो कित्ता क्लियर गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

शनिबार बेलुका बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्दैै ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउने चलखेल भइरहेकाले कडा कदम चाल्नु पर्ने अवस्था समेत आउन सक्ने ब्रिफिङ गरेका हुन्।

मन्त्रीहरु रामबहादुर थापा बादल, वर्षमान पुन, शक्ति बस्नेत, घनश्याम भुसालहरु दाहाल नेपालले बोलाएको गुट भेलामा सहभागी भएपछि ओली उनीहरुप्रति लक्षित गर्दै एउटा कित्तामा लाग्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार ओलीले मन्त्रीहरुसँग समसामयिक विषयमा छलफल गरेका हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार पार्टीबाट राष्ट्रपति र आफूलाई हटाउन सक्ने भएकाले ‘बाइ फोर्स’ अघि बढ्नु पर्ने अवस्थासमेत आउन सक्ने प्रधानमन्त्री ओलीले बताएका थिए।

ओलीले मंसिर ४ गते भएको निर्णयअनुसार अघि बढ्न आफू तयार रहेको मन्त्रीहरुलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘मलाई कारबाही गर्ने कोसिस हुँदैछ। सहमतिमा आउँछन् भने म मंसिर ४ गतेको निर्णय मान्न तयार छु। अन्यथा मैले के गर्ने?’

मन्त्रीहरुसँग छलफल गर्नुअघि ओलीले शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।

यसैबीच पार्टी एकता जोगाउन विजय पौडेलको अग्रसरतामा केन्द्रीय सदस्यहरुले जुम मिटिङ गरेका छन्।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू