चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको दबाब कायमै, चौथो स्थान खोस्ने प्रयासमा युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहेर लिग टुंग्याउने प्रयासमा रहेको म्यानचेस्टर युनाइटेडले सो सम्भावना कामयै राख्न सफल भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई ५–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाटेडका लागि म्यासन ग्रिनवुडले २९ र ५४ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै मार्कश रासफोर्डले ३५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे भने एन्थोनी मार्शलले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे ।

युनाइटेडका लागि ब्रुनो फेर्नान्डेसले ५९ औँ मिनेटमा गोल गरेका हुन् । बोर्नमाउथका लागि १५ औँ मिनेटमा स्टानिसलास र ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा किङ्गले गोल गरेका हुन् ।

जितपछि पाँचौँ स्थानको युनाइटेडको ३३ खेलबाट ५५ अंक भएको छ र उसले चेल्सीमाथि दबाब बनाइरहेको छ । चौथो स्थानमा रहेको चेल्सीको ३३ खेलबाट ५७ अंक छ ।

युनाइटेडसँग पराजित भएको बोर्नमाउथ ३३ खेलबाट २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा ब्राइटनले नर्विचलाई १–०, लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ३–० तथा आर्सनलले वुल्भ्सलाई २–० ले परजित गरेका छन् ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्