देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौँ – देशभरको मौसम आइतबार पनि बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै भारतको पूर्वी उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको पनि प्रभाव नेपालमा परेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्