विश्वमा एकै दिन थपिए दुई लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसको महामारी विश्वका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबार एकै दिन विश्वभर दुई लाख १२ हजार भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

यो एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । यसअघि जुन २८ मा एक लाख ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो । अमेरिका, ब्राजिल, भारतसहितका देशमा तीव्र गतिमा संक्रमित थपिइरहेका छन् ।

भारतमा शनिबार अहिलेसम्मकै धेरै २२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पनि शनिबार अहिलेसम्मकै धेरै ५३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा शनिबार थपिएका संक्रमितको संख्या ४८ हजार भन्दा बढी रहेको छ।

विश्वभर हालसम्म एक करोड १२ लाख ६७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये पाँच लाख ३० हजार भन्दा बढीको ज्यान गएको छ ।

डब्लुएचओले विभिन्न देशहरुले संक्रमण बढिरहे पनि त्यसलाई बेवास्ता गर्दा समस्या थप विकराल बन्दै गएको भनि चिन्ता व्यक्त गरेको छ ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्