उप-महानगरले सडक मर्मत नगरेको भन्दै जनकपुरका स्थानीयद्वारा प्रदर्शन

जनकपुरधाम- सडक मर्मत सम्भार नगरेको भन्दै जनकपुरधाममा स्थानियहरुले सडक आवरुद्ध गरेर प्रदर्शन गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित पुलचोक जाने बाटोमा स्थानीय, युवा र व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध नाराबाजी गर्दै  सडक अवरुद्ध गरेका हुन्। स्थानिय सरकारको आएको तीन वर्ष भइसकेपनि समस्यामा केहि सुधार नआएको भन्दै तिनीहरुले प्रदर्शन गरेका छन्।

धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत सिरहा समेत जोड़ने उक्त हुलाकी सड़कको अवस्था दयनीय रहेको र हल्का बर्षातमा पनि त्यहाँ ३÷४ फिटसम्म पानी जम्ने गरेकोले आवात जावतमा समस्या भईरहेको भन्दै आफुहरुले सडक अवरुद्ध गरेको स्थानीय राजीव साहले बताए।

उनका अनुसार जनकपुरधाम उपमहानगर वडा नं. १६ र १९ को सीमाना समेत रहेको सो हुलाकी सड़कमा मरम्मत सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको छ।

आजभन्दा पहिले पनि आफूहरुले पटक पटक सड़क अवरुद्ध गरेर आन्दोलन गरेपनि स्थानीय सरकारले समस्या समाधान गर्ने तर्फ चासो नलिएको उनको आरोप छ।

यता, सडक मरम्मत सम्भार किन हुन नसकेको प्रश्‍नमा वडा नम्बर–१६ का वडाध्यक्ष रामअशीष पजियारले सो सडक हुलाकी सड़कखण्ड भएकोले उपमहानगरले बनाउन नसक्ने प्रतिक्रिया दिए।

 

सडक #मर्मतसम्भार #जनकपुर #उपमहानगर

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्