अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन-खानेपानी मन्त्री मगर

काठमाडौँ-खानेपानी तथा सरसफाई मन्त्री विना मगरले एकादेशको दन्त्य कथा जस्तो बनेको मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको बताइन्।

आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। यसको चाँडै नै अन्त्य भइ साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’

उनले असार महिनाभित्र मेलम्चीको पानी काठमाडौमा झार्ने र साउनदेखि धारामा वितरण गर्ने बताइन्।

उनले भनिन्, ‘मेलम्ची आयोजना सम्पन्‍न गर्न निकै चुनौती तथा कठिनाइहरु भोग्नु पर्‍यो। तर हामी सफल भएका छौँ। अस्थायी प्रकृतिका सम्पूर्ण काम सम्पन्न गरिसकेको र पानी टेस्टिङ प्रक्रियामा अगाडी बढेको छ।छिट्टै काठमाडौँमा आउन्छ।’

यस्तै मन्त्री मगरले पानीको आवश्यक टेस्टिङ प्रक्रिया सकेर आवश्यक नेतृत्वसँग छलफल गरेर छिट्टै उद्घाटनको मिति तय गर्ने जानकारी दिइन्। ‘उद्घाटन गर्ने मिति टाढा छैन’ उनले भनिन् ‘छिट्टै मिति तय गरेर पानी जनताको घरघरमा पुर्‍याउन सुरु गछौँ।’

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परीक्षण कार्य बिहान ९:४५ बजेदेखि सुरु गरिएको हो। दुई महिनाको परीक्षणपछि काठमाडौँमा पानी आइपुग्नेछ।

 

#मेलम्ची #खानेपानी #बिनामगर

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्