व्यवसायीलाई थर्काएर प्रहरीद्वारा १० लाख लुटपाट प्रकरण: सहकारीबाट पैसा निकालेको सूचना चुहिएको थियो

सांकेतिक तस्बिर

काठमाडौं– न्युरोडका एक व्यवसायीलाई थर्काएर प्रहरीले १० लाख लुटेको घटनामा काठमाडौं प्रहरी परिसरले अहिले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई यसअघि २ जना प्रहरीलाई पक्राउ गरि परिसरको जिम्मा लगाएको थियो।

पक्राउ पर्नेमा धीरेन्द्र विष्ट र विक्रमकुमार चन्द थिए। धीरेन्द्रले यसअघि परिसरअन्तर्गत सादा पोसाकमा रहेर काम गरेका थिए। न्यूरोडका व्यापारीले साथमा बोकेको पैसा हुन्डीको भएको थर्काउँदै उनीहरुले १० लाख रुपैयाँ दिए चुप लाग्ने बताएको अनुसन्धान अधिकारी बताउँछन्।

‘प्रहरीले थर्काएपछि व्यापारीले १० लाख रुपैयाँ दिएका रहेछन्। प्रहरीले पैसा लगेपछि व्यापारीले प्रहरीमा आएर आफूसँग भएको १० लाख रुपैयाँ प्रहरी बताउने दुई जनाले लुटेको बताएका थिए’, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्।

प्रहरीले शनिबार थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये सहकारीका एक कर्मचारी छन्। अनुसन्धानमा व्यवसायीसँग भएको उक्त पैसा सोही सहकारीबाट निकालेको खुलेको छ। ती कर्मचारीले प्रहरीलाई व्यवसायीले पैसा झिकेर लगेको सूचना दिएका थिए।

‘प्रहरीले सहकारीका कर्मचारीलाई कोही मान्छेले यहाँ आएर ठूलो रकम झिके हामीलाई खबर गर्नु भनेका रहेछन्। त्यसदिन सहकारीकै कर्मचारीबाट धीरेन्द्रलाई खबर पुगेको रहेछ’, एक अनुसन्धान अधिकारी भन्छन्।

प्रहरीले पक्राउ परेका ती दुई जनाको नाम भने खुलाएका छैनन्। ‘उनीहरुले कुन हिसाबले सूचना दिएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ’, ती अधिकारीले भने।

प्रहरीले व्यवशायीले पक्राउ परेका प्रहरीलाई पैसा दिइरहेको सिसिटिभी फुटेज पनि बरामद गरेको छ जुन पुर्णरुपमा स्पष्ट छैन। तर पक्राउ परेका प्रहरीले व्यवशायीसँग पाइन्ट लिएको बताएका छन्। पक्राउ परेलगत्तै उनिहरुले प्रहरीसँग १० लाख रुपैयाँ लिएको स्विकार गरेको अडियो रेकर्ड रहेको अनुसन्धान अधिकारीको दावी छ।

‘पक्राउ परेका प्रहरीले पैसा बरामद नभएकाले घटनालाई स्थापित गराउन हामी हरहिसाबले प्रयास गरिरहेका छौँ’, ती अनुसन्धान अधिकारी भन्छन्।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्