‘लकडाउन खुकुलो भएपनि ग्राहक छैनन्, सार्वजनिक सवारी नचलेसम्म व्यापारमा सुधार हुन्न’

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल।

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदर मिनाहा र किस्ता तिर्ने समय अवधि बढाउनु पर्ने नेपाल राष्ट्र बैंकसँग माग गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउनभरको ब्याजदर मिनाहा, किस्ता तथा ब्याज तिर्ने भाका एक वर्ष पर सार्न राष्ट्र बैंकसँग माग गरेको जानकारी दिए।

उनले पुनर्कर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने आफूहरुले माग गरेको बताए।

उनले मागहरु पूरा नभए व्यवसायीहरु सडकमा उत्रिने चेतावनी दिएका छन्। उनले भने, ‘लकडाउनका कारणले व्यापार व्यवसायमा निकै प्रभाव परेको छ। व्यापार भएको छैन। ब्याज तथा किस्ता तिर्ने समय नजिक आउँदैछ। व्यापार नभएको अवस्थामा कहाँबाट ब्याज, कर तथा किस्ता तिर्ने?’

व्यापार व्यवसाय नहुँदा घरभाडा, बिजुली तिर्न पनि हम्मे–हम्मे परेको उनको भनाइ छ।

उनले लकडाउन खुकुलो भए पनि ग्राहकहरुको ‘फ्लो’ शून्य जस्तै भएको बताए। ‘सरकारले लकडाउन केहि खुकुलो बनाए पनि व्यापार व्यवसायमा लकडाउन लागेकै छ’, उनले भने, ‘ग्राहकहरु आएका नै छैनन्। अत्यावश्यक वस्तु बाहेक अरु बिकेको छैन।’

यस्तै उनले व्यापार व्यवसाय गर्नका लागि बैंकहरुले पनि ऋण दिन आनाकानी गरिरहेको बताए। ‘बैंकहरुले खुलेर ऋण प्रवाह गरिरहेका छैनन्। अहिले व्यापार व्यवसाय ठप्प भएर होला बैंकहरुले पनि ऋण दिन गाह्रो मानिरहेका छन्’, उनले भने।

बैंक तथा वित्तीय क्षेत्रमा पैसा हुँदा पनि कसैले पनि व्यवसाय तथा उद्योगमा लगानी गर्न नचाहेको उनको गुनासो छ।

ब्याजदरमा छुट, ऋण तथा किस्ता तिर्ने समय अवधि बढाउने कुरा सजिलो तरिकाले गरे पनि लागु गर्नेतर्फ त्यति सजिलो नदेखिएको उनले बताए।

सार्वजनिक सवारी साधनले पनि व्यापार व्यवसाय हुनुमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। तर सरकारले निजी सवारीसाधन चलाउन अनुमति दिए पनि सार्वजनिक सवारीसाधन भने सञ्चालनमा आएका छैनन्।

सार्वजनिक सवारीसाधन सञ्चालनमा नआएसम्म व्यापार व्यवसायमा पनि सुधार नआउने उनले बताए।

यस्तै उनले ठूलो बजारभन्दा स्थानीय स्तरका साना बजारमा व्यापार भइरहेको बताए। ‘सवारीसाधन नचल्दा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान मिल्दैन’, उनले भने, ‘जस्तो पहिले कीर्तिपुरबाट पनि मानिसहरु किनमेलका लागि न्यूरोडसम्म आउथे। तर अहिले त्यो सम्भव छैन। सवारीसाधन पनि बन्द, कोरोनाको त्रास त छँदैछ।’

सरकारले लकडाउन गर्ने जानकारी पाएसँगै काठमाडौँका धेरै जसो मानिसहरु आ–आफ्नो घर गएका कारणले पनि व्यापारमा धक्का पुगेको उनले बताए।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले लकडाउनका कारण उद्योग व्यवसायी मर्कामा परेको भन्दै तत्कालै ब्याज छुटको घोषण गर्नु पर्ने बताए।

राष्ट्र बैंकले व्यवसायीहरुको समस्यालाई सहज बनाउन केही प्रयास गरेपनि ती प्रयास पर्याप्त नभएको उनले बताए।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू