के नेपालमा अर्को जंगबहादुर जन्मिएलान्?

एउटै नेता सफल र प्रिय दुबै हुन सक्छ? असम्भव छैन तर त्यस्तो दुर्लभै हुन्छ। नेपालले अहिलेसम्म न सफल नेता पाए, न प्रिय नै। एउटा सफल र प्रिय नेता हुन धेरै कुरा जुर्दा पनि नपुग्ने रहेछ। जिन्दगीभर राजनीति गरेर त्यसमा पोख्त हुँदा पनि नपुग्ने। बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर पनि नपुग्ने। वर्षौँ वर्ष जेलनेल खाएर पनि नपुग्ने। ठूलो दलको अध्यक्ष भएर पनि नपुग्ने। सबैभन्दा ठूलो दलको सबैभन्दा ठूलो अध्यक्ष भएर पनि नपुग्ने। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भएर पनि नपुग्ने। भ्रष्टाचार गर्ने त के भ्रष्टाचार गर्नेलाई हेर्न पनि सक्दिन भन्ने अठोटले गर्दा पनि नपुग्ने। आर्थिक मामिलामा इमान्दार हुँदा पनि नपुग्ने। आफूलाई गलत लागेका प्रवृत्तिलाई पेलेर लाने खुबी भएर पनि नपुग्ने। आफूलाई सही लागेका व्यक्तिलाई संरक्षण दिएर अघि बढाउँदा पनि नपुग्ने। सहिष्णु भएर पनि नपुग्ने। सह्रदयी भएर पनि नपुग्ने। आफूलाई ठिक लागेका कुरालाई छलफलमा नल्याई ठाडो निर्णय गराउन सक्ने क्षमता भएर पनि नपुग्ने। ’फुटाउ र राज गर’ भन्ने कुटिल खेलका कुशल खेलाडी हुँदा पनि नपुग्ने। अनुशासित हुँदा पनि नपुग्ने। आधुनिक व्यवस्थापकीय कार्यशैली अपनाउँदा पनि नपुग्ने। महत्वाकांक्षी हुँदा पनि नपुग्ने। मुलुक बनाउने संकल्प लिँदा पनि नपुग्ने। सबैभन्दा ठूलो आफ्नो शरीरमाथि विजय प्राप्त गरेर मुलुकको लागि समर्पित गर्दा पनि नपुग्ने।

मैले यहाँ कुनै राजनेताको कुरा गरेको होइन। औसतभन्दा माथि एउटा शीर्ष नेताको कुरा गर्दैछु। सबैलाई थाहा छ, यी सबै कुराहरु म वर्तमान प्रधानमन्त्री श्री खड्गप्रसाद (केपी) शर्मा ओलीलाई इंगित गरेर गरिरहेछु। धेरैलाई लाग्ला यी सब व्यंगात्मक प्रहार हुन्। होइन, माथि उल्लेखित सबै प्रधानमन्त्री ओलीका गुण, विशेषता र सबल पक्षहरु हुन्। ती गुणहरुलाई दुर्बल पक्षको रुपमा पनि चित्रित गर्न सकिन्छ। कुनै पनि सिक्काको दुई पाटा हुन्छन् भनेझैं कसैको एउटा विशेष गुण वा शक्तिलाई कसैले राम्रोका लागि प्रयोग गर्छन् त कसैले नराम्रोको लागि प्रयोग गर्छन्। त्यही कुरा राम्रोको लागि प्रयोग हुँदा सबल हुन्छ, नराम्रोको लागि प्रयोग हुँदा दुर्बल हुन्छ।

माथिका कुरामा फर्किंदा प्रधानमन्त्री ओली टाठाबाठा ठिटो हुँदैदेखि निरन्तर राजनीति गर्दै आएकै हुन्। दुःख, गरीबी, जालझेल, डरत्रास, लुकीछिपी, हारजीत आदि आत्मसात गरेर अहिलेसम्म आएकै हुन्। गोल घरसहित १४ वर्ष जेल बसेकै हुन्। पूर्व एमालेका निर्वाचित अध्यक्ष हुँदै पूर्व माओवादी–केन्द्रसँग एकता गरी बनेको नेकपाको दुई अध्यक्षहरुमध्ये पहिलो नम्बरको अध्यक्ष नै हुन् ।संविधानसभाले संघीय संविधान जारी गरेपछिको पहिलो प्रधानमन्त्री र संघीय व्यवस्थापिकाको पहिलो निर्वाचन भएपछिको पहिलो प्रधानमन्त्री (वर्तमान) पनि हुन्। उहाँकै पालामा ठूलाठूला भ्रष्टाचारहरुको पर्दाफास भएकै हुन् र अभियुक्तहरुलाईकारबाही चलिरहेको अवस्था नै हो। उहाँकै पुराना सहपाठी तथा आलोचक राधाकृष्ण मैनालीले ठिटै हुँदा आर्थिक मामिलामा इमान्दार थियो भनेकै हुन्। आफूलाई गलत लागेका (अरुलाई गलत नलाग्न सक्छ) लाई अवसर नदिएर पेलेर लान सक्ने खुबी देखाएकै हुन्। आफूले विश्वास गरेकालाई अरुले जति विरोध गरे पनि अघि बढाएर देखाएकै हुन्। द्वन्द्वका बेला आफूले कटू आलोचना गर्ने गरेका माओवादी अध्यक्षसँग पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर सरकार तथा पछि पार्टी एउटै गरेर सहिष्णु बनेकै हुन्।

कम्युनिस्ट आन्दोलनका सहकर्मी तथा आफ्नै आलोचकहरु चन्द्रप्रकाश (सीपी) मैनालीर चित्रबहादुर केसीलाई आफ्नो मन्त्रीमण्डलमा उपप्रधानमन्त्री दिएर सह्रदयी बनेकै हुन्। त्यतिमात्रै होइन, प्रतिपक्षी दलबाहेक सबैजसो प्रमुख दलका नेतालाई पनि उपप्रधानमन्त्री बनाएर समावेशी बनेकै हुन्। बेलाबेला आफ्नै दल र अरु दलका शीर्षस्थ नेताहरुलाई पालैपालो फकाइ फुल्याइ वा तलमाथि पारेर आफ्नै पक्षमा उपयोग गर्दै आएकै हुन्। मर्यादाक्रमअनुसार राष्ट्रपतिप्रति भक्तिभावसहित अनुशासन प्रदर्शन गर्दै आएकै हुन्। आफैँले बनाएको राष्ट्रपति न हो भनेर अनादर गरेको वा नटेरेको कतै आभास छैन। मन्त्रीहरुलाई समय–तालिकाबमोजिम सम्पादन गर्नुपर्ने कामहरुको निरन्तर मूल्यांकन गरी को कति अंकसहित पास फेल भए, छुट्याएकै हुन्। ठूलठूला योजनाको परिकल्पनासहित केहीको कार्य र केहीको सम्भाव्यता अध्ययन प्रारम्भ गरेकै हुन्। समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्षसहित पन्ध्रौं योजना तर्जुमा गरेकै हुन्। मुलुक हाँक्ने प्रणकै साथ वर्तमान प्रधानमन्त्रीको कार्यकालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर तन्दुरुस्त बनेकै हुन्।

यी सबका बाबजुद् पनि मुलुकले सही दिशा लिन सकिरहेको छैन। जनता खुशी देखिन्नन्। विरोधका स्वरहरु गुञ्जिएका छन्। ढिलासुस्ती छ। भ्रष्टाचार छ। कतिपय अराजक अवस्थाको सिर्जना भएको छ। मानवताकै उपहास हुने अपराधिक घट्नाहरु भएका छन्। यहाँ मैले विरोधको लागि हुने गरेका विरोधको कुराहरु गरेको होइन। किनकि विरोधीको कामै विरोध गर्ने हो। प्रतिपक्षको धर्म नै विरोध गर्ने हो। यस लेखमा विरोधभागी काम कारबाही र प्रवृत्तिहरु, त्यो पनि मूल नेतृत्व केन्द्रित पक्षलाई मात्र केही विषयवस्तु बनाइएको छ।

यदि देशमा बढिरहेको अराजकता र भ्रष्टाचार सही अर्थमा सम्बोधन हुन्छ भने अर्को जंगबहादुर देशको हितमा हुनेछ। त्यो जंगबहादुर प्रधानमन्त्री केपी शर्मा ओली नै किन नहुन्।

एउटा शिर्षस्थ नेतामा हुनुपर्ने गुणहरु प्रधानमन्त्री ओलीमा छन् । तब न प्रधानमन्त्री बन्न सक्नु भयो। सबै कुराहरुको दुइटा पाटा र अवस्था हुन्छन्, राम्रो र अनुकूल तथा खराब र प्रतिकूल। उहाँका तिनै गुणमध्ये कतिपय खराब वा प्रतिकूल रहँदै आयो। जस्तै आफूलाई ठिक नलागेका व्यक्तिलाई जिम्मेवारीबाट बञ्चित गर्न सक्नु एउटा खुबी नै हो। त्यही खुबी कोहीसँग बदला लिने भावमा प्रयोग हुन गयो भने त्यो खराब हुन्छ। त्यो पक्ष उहाँमा प्रष्ट उजागर भयो। जस्तै तत्कालीन एमालेका नेतृ तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश ३ (हाल बागमती प्रदेश) को मुख्यमन्त्री हुने लक्षस्वरुप प्रदेश सभाको निर्वाचनमा होमिनु भयो। तर उहाँलाई मुख्यमन्त्री बन्न दिइएन। पार्टीमा गरेको योगदानसहितको कुनै पनि हिसाबले शाक्य मुख्यमन्त्रीको लागि योग्य हुनुहुन्थ्यो र बन्नै पर्थ्यो। व्यक्तिगतरुपमा शाक्यसँग मेरो कुनै चिनजान छैन। त्यस्तै प्रधानमन्त्री ओलीको अर्को राम्रो पक्ष भनेको आफूले विश्वास गरेका मानिसलाई संरक्षण गर्ने। तर त्यो संरक्षकत्व गलत किसिमले प्रयोग भयो भने त्यसको परिणाम खराब हुन सक्छ। जस्तै नेकपाका आशलाग्दा युवा नेता र तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी वाइडबडी काण्डमा मुछिनु भएपछि सम्बन्धित संसदीय समितिले अनुसन्धानको लागि सिफारिस भयो। त्यो भनेको अधिकारीले मन्त्री पदबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने हुन्थ्यो। तर प्रधानमन्त्री ओलीले त्यसलाई छल्न अर्कै एउटा छानबिन समिति बनाएर संसदीय समितिको सिफारिसलाई निस्क्रिए बनाइ दिनुभयो। संयोगवश आफ्नो निर्दोषिता.प्रमाणित गर्न नपाउँदै अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भयो। व्यक्तिगतरुपमा पनि मैले एउटा असल मानिसको रुपमा चिनेको अधिकारीको असामयिक निधनले मुलुकले नै केही गुमाएको महशुस अझै भइरहेको छ ।यदि यहीँनिर शक्तिमा भएको बेला जे पनि गर्न सकिन्छ वा मिल्छ भन्ने प्रधानमन्त्री ओलीको शैली भनौं या मान्यता अझ प्रष्टताका साथ प्रस्फुटन भयो। उहाँले एउटा संवैधानिक प्रक्रिया नै मिच्नुभयो। यो उहाँको साहस, जसलाई दुस्साहस पनि भन्नुपर्ने हुन्छ, पटक पटक प्रयोग हुँदै आयो। त्यो चाहे, दल फुटाउन पाउने अध्यादेश होस् या पछिल्लो पटक संसद अधिवेशन अन्त्य गर्ने एकलौटी निर्णय।

प्रधानमन्त्री ओली सर्वज्ञानी हुनुहुन्छ। त्यसमा द्विविधा छैन। त्यही ज्ञानको कारण पनि उहाँ आलोचनामा पर्नुहुन्छ। चाहे त्यो बोसीय तत्व होस् वा बेसारको प्रयोग। आफूले जानेको कुरा, आफुलाई लागेको कुरा बोल्ने लेख्ने वाक स्वतन्त्रता लोकतन्त्रको गहना हो। तर लोकतन्त्र यति छुच्चो छ, जुन कुरा र अधिकार सर्वसाधारणलाई प्राप्छ छ, त्यही कुरा र अधिकार दुरुस्तै जिम्मेवार पदाधिकारीलाई प्राप्त नहुन सक्छ। अधिनायकबादमा यो ठिक उल्टो हुन्छ। सर्वसाधारणलाई बोल्ने लेख्ने अधिकार हुन्न, तर शासकहरुलाई हुन्छ। भन्न खोजेको प्रधानमन्त्रीले मुलुकलाई दिशा–निर्देश गर्ने हो, विषय वस्तुमा प्रवचन दिने होइन।

सबैले भन्दै आएको कुरा हो, प्रधानमन्त्री ओलीमा ठूलो अहम् छ। त्यसलाई मैले अस्वीकार गर्नुको कुनै तुक छैन। उहाँ आफ्नो विरोध सुन्न सक्नुहुन्न । हुनत, आफ्नो विरोध कस्ले पो सुन्न चाहन्छ र! तर नेताले सुन्न सक्नुपर्छ र सुनेर त्यसलाई आफ्नो पक्षमा उपयोग गर्न सक्नुपर्छ। त्यो गुणरुपी हतियार उहाँमा छ र बेलाबेला प्रयोग गर्दै आउनु भएको छ पनि। भर्खरै ‘इनफ इज इनफ’ का युवा सत्याग्रहीहरुलाई अस्पतालमै गएर भेट्नुभयो। यो राम्रो कुरा हो। मेरो विश्लेषणमा उहाँ उपयोगवादी नेता हो। मुलुकको हितमा जोकसैलाई उपयोग गर्नु राम्रो हो। आफ्नै हितमा मात्र उपयोग गर्नु नराम्रो हो। म आफुलाई लागेका कुराहरु र आफुले देखेका कुराहरु लेख्ने गर्छु। यो लेख उहाँले पढ्नु हुन्छ हुन्न थाहा छैन। प्रधानमन्त्री ओलीको बारेमा मैले सामाजिक सञ्जाल खासगरी फेसबुकमा कहिलेकाहीँ लेख्ने गरेको छु। उहाँले भन्नुभएको एउटाकुरा जुन मलाई कत्ति पनि मन परेन, त्यो हो – मेरै विरोधका लागि मानिसहरु मास्क लगाएर हिँड्न थालेका छन्। त्यसको अर्थ मास्क लगाउने जति उहाँको विरोधी। यो भनाई कोरोनाभाइरस आउनुअघिको हो। अहिले सान्दर्भिक छैन।

अहिले एउटा नारा उठाइएको छ, समर्थन ओलीको लागि होइन, देशको लागि। ओलीलाई समर्थन आजको लागि होइन, भोलिको लागि। यी नाराले एउटा कुरा के प्रष्ट गरेको छ भने आजका दिनसम्म प्रधानमन्त्री ओली मुलुकको लागि सफल हुन सक्नु भएको छैन। भोलिको आसमा समर्थन खोजिएको छ। उहाँ आफैँले पनि पदमा बसिरहन मन नभएको तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने भएकोले आफ्ना लागि होइन देशका लागि भन्नुभएको छ। यो कुरामा उहाँले बोलेर मात्रै होइन गरेरै पनि केही देखाउनु भएको छ। भारतले नाकाबन्दी गर्दा भारतको विरुद्ध उहाँले अडान लिएर राष्ट्रवादी छवि बनाउनुभयो र त्यसको परिणामस्वरुप गएको निर्वाचनमा उहाँलाई जनताले भारी मत दिए। त्यस्तै अहिले आएर भारतले मिचिराखेको भू–भागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्नुभयो। नेपाल र भारतबीच धेरै असमान कुराहरु छन्, जसको कारण नेपाल सधैँ भारतबाट ठगिँदै आएको छ, पिरोलिँदै आएको छ। उहाँले भारतसामु माथि उल्लेखित दुइटा अडान जुन राख्नु भयो त्यो दुई भिन्न परिस्थितिमा भएको छ।

भारतले नाकाबन्दी संविधान जारी भए लगत्तै र भूकम्पबाट नउठ्दै गरेको थियो। जुन हरतरहले अमानवीय र अराजनीतिकसमेत थियो। त्यसमा प्रधानमन्त्री ओलीको बलियो अडानले नेपालीको शीर ठाडो राख्यो। नक्साको कुरा गर्दा वर्षौं लगाएर भारतले बाटो बनाइसकेर त्यसको उदघाट्न भएपछि बल्ल सरकारको आँखा खुल्यो। त्यो पनि थेगिनसक्नु गरी जनदबाब बढेपछि। त्यसमा प्रधानमन्त्री स्वयंले भन्नुभएको छ, बाटो बनेको मलाई थाहै छैन। यसले उहाँको आफ्नो कमजोरी त देखाउनु नै भयो तर मुलुककै प्रशासनिक संयन्त्र बेकारको रहेछ भन्ने पनि प्रमाणित गर्नुभयो। त्यसैले माथि उल्लेखित राष्ट्रबादी अडान र नक्सा दुबै परिस्थितिजन्य उपज मात्र हुन्। दशकौं दशकदेखि नेपालले भारतबाट भोगेर आइरहेको असमान व्यवहारबाट उन्मुक्ति पाउन चालिएको कदम होइन। दुई देशबीचको असमानता हटाउने अभियानलाई लिएर भएको होइन।

प्रधानमन्त्री ओलीको नेतृत्वको यो सरकारको पालामा गर्नैपर्ने थुप्रै कामहरु भएका छन्। राष्ट्रिय नाराहरु पनि आए। ती कामहरु आफैँमा उपलब्धि हुन्। तर पनि तिनलाई सरकारले उपयोग गर्न सकेनन्। त्यसको पछाडि सरकारका थुप्रै कमीकमजोरीहरु हाबी रह्यो। तीमध्ये कतिपय आत्मरति र व्यक्ति प्रधानखालका प्रचारबाजी थिए। यो लेखको उद्देश्य सरकारको सफलता र असफलताकोट्याउने नभएकोले त्यसमा थप प्रवेश गर्न चाहिन। एउटा सामान्य नागरिकको दृष्टिबाट सरकारका सफलता र असफलता,अनि कार्य शैली र बोल्ने शैलीसमेत कोट्याउने हो भने अनगिन्ती छन्।

अन्त्यमा, भन्नलाई प्रधानमन्त्री ओलीलाई जंगबहादुरपछिको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भन्ने गर्छन्। किन जंगबहादुर सँगै दाँजेका होलान्  भनेजस्तो पनि लाग्छ। जंगबहादुर त तानाशाह हुन्। जंगबहादुरजस्तो तानाशाह त जंगबहादुर जत्तिकै क्षमता राख्ने भए पनि बन्न सकिन्न अहिले। अर्को कुरा, जंगबहादुरले जति‘पावर एक्सरसाइज’ प्रधानमन्त्री ओलीले कहाँ गर्न पाएका छन् र? गर्न सके र गरे त बरु केही हुन्थ्यो कि! हुन त विरोधी दलहरु ओली सरकार अधिनायकवादतिर अघि बढिरहेको पनि भन्छन्। राजनीति गर्नेहरुले त्यो देखेका होलान्। म एक सामान्य नागरिकले त्यो देखिरहेको छैन। सुन्दै र भन्दै आएको कुरा हो, नेपालमा अर्को जंगबहादुर जन्मिनुपर्छ। यदि देशमा बढिरहेको अराजकता र भ्रष्टाचार सही अर्थमा सम्बोधन हुन्छ भने अर्को जंगबहादुर देशको हितमा हुनेछ। त्यो जंगबहादुर प्रधानमन्त्री केपी शर्मा ओली नै किन नहुन्।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्